काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वी नेपालमा सरदर स्थानकै आसपास रहेकाले वर्षा हुने अवस्था बनेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही तथा पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही र तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने जनाएको छ। साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया