राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा देखिएको पछिल्लो विषम परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति पौडेलले नेपाल सदियौँदेखि सामाजिक, धार्मिक र जातीय सद्भाव, मेलमिलाप तथा भ्रातृत्वको उदाहरण रहेको उल्लेख गर्दै यही पहिचानलाई जोगाउँदै शान्ति, सुव्यवस्था र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
राष्ट्रपतिले वर्तमान विषम अवस्थालाई छिटोभन्दा छिटो सामान्य बनाउन सरकार सफल हुने विश्वास व्यक्त गर्दै नागरिकले सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न आवश्यक सबै प्रयास गरिने अपेक्षा व्यक्त गरेका छन्।
उनले समुदायबीचको एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्दै परिस्थितिलाई थप जटिल बन्न नदिन सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।
साथै, घटनामा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन आह्वान गरेका छन्।

प्रतिक्रिया