सिरहामा हिंसा चर्कियो, गोली लागेका किशोरको मृत्यु

आगजनी, तोडफोड, कर्फ्यु विस्तार,


सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि जिल्लाको सुरक्षा अवस्था थप तनावग्रस्त बनेको छ। आगजनी, तोडफोड र झडपका घटनाहरू बढ्दै जाँदा प्रशासनले गोलबजारपछि लहान क्षेत्रमा पनि कर्फ्यु आदेश विस्तार गरेको छ।

बिहीबार बिहानदेखि प्रदर्शनले उग्र रूप लिएपछि सिरहाका विभिन्न स्थानमा आगजनी र तोडफोडका घटना भएका छन्। गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल प्रदर्शनकारीले आगजनी गरेका छन्। घटनापछि प्रहरीले अवस्था नियन्त्रणमा लिन व्यापक सुरक्षा परिचालन गर्दै स्थिति सामान्य बनाउन प्रयास गरिरहेको जनाएको छ।

यसैबीच झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पुष्टि गरेका छन्।

सहायक सीडीओ बरालका अनुसार, मृतकको पहिचान औरही गाउँपालिका–२ निवासी गणेश यादवका रूपमा भएको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको छ। उनले प्रभावित क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए।

सुरक्षा अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालयले यसअघि गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ सम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।

त्यसपछि प्रशासनले अर्को सूचना जारी गर्दै लहान नगरपालिका क्षेत्रमा पनि बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरेको जनाएको छ। प्रशासनका अनुसार लहानको पूर्वतर्फ बलान खोला, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गबाट करिब ५०० मिटर वरपरको क्षेत्रमा आवतजावत र जमघटमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। घटनाबारे थप विवरण आउने क्रम जारी रहेको छ।