एक जना मात्रै सल्लाहकार राखेको छु : अर्थमन्त्री स्वर्णिम वाग्ले


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले केवल एक जना अवैतनिक राजश्व सल्लाहकार मात्रै नियुक्त गरेको बताएका छन्। उनले राजश्व प्रशासनलाई उच्च प्राथमिकतामा राखेकै कारण राजश्व क्षेत्रका लागि मात्र सल्लाहकार राखिएको स्पष्ट पारे।

अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारको सङ्ख्यासँग तुलना गर्दै आफ्नो मन्त्रालयमा सल्लाहकारको संख्या न्यून रहेको उल्लेख गरे।

उनले भने, “तपाईँहरूले सुनिराख्नुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ। तर मैले केवल एक जना अवैतनिक राजश्व सल्लाहकार मात्र राखेको छु। भनेपछि यो राजश्वको विषयलाई मैले कति महत्त्व दिएको छु भन्ने कुरा यहाँहरूले बुझ्नुहोला।”

मन्त्री वाग्लेले आफ्नो अभिव्यक्तिमार्फत राजश्व संकलन र व्यवस्थापनलाई सरकारको प्रमुख प्राथमिकतामध्ये एकका रूपमा अघि बढाइएको संकेत गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा ठूलो संख्यामा सल्लाहकार नियुक्त गरिएको विषयमा सार्वजनिक रूपमा आलोचना भइरहेका बेला अर्थमन्त्री वाग्लेले उक्त टिप्पणी गरेका हुन्। पछिल्लो समय प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री वाग्लेबीच सम्बन्ध चिसिएको चर्चा भइरहेका बेला उनको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि, मन्त्री वाग्लेले आफ्नो सम्बोधनमा कुनै व्यक्ति वा निकायलाई प्रत्यक्ष लक्षित नगरी राजश्व प्रशासनप्रतिको आफ्नो प्राथमिकता मात्र प्रस्तुत गरेका थिए।