आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज नामिबियासँग महत्वपूर्ण खेल खेल्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ।
जारी शृङ्खलाका पहिलो दुई खेलमा लगातार हार बेहोरेपछि नेपालमाथि दबाब निकै बढेको छ। नेपाल पहिलो खेलमा नामिबियासँग ८ विकेट तथा दोस्रो खेलमा घरेलु टोली नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो।
लिग–२ को अंक तालिकामा हाल ३० खेलबाट २४ अंकसहित पाँचौं स्थानमा रहेको नेपालका लागि आजको खेल अत्यन्त महत्वपूर्ण मानिएको छ। विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउन शीर्ष चारभित्र पर्न नेपालले बाँकी सबै ६ खेल जित्नुपर्ने अवस्था छ। यदि नेपालले सबै खेल जिते ३६ अंक पुग्नेछ, जसले शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनाउनेछ।
यदि एक खेलमा पनि हार व्यहोरे नेपाललाई अन्य टोलीहरूको नतिजा र नेट रनरेटमा भर पर्नुपर्ने अवस्था आउनेछ। त्यसैले आजको खेल नेपालका लागि ‘गर या मर’ को रूपमा हेरिएको छ।
विश्वकप ग्लोबल छनोटको दौडसँगै नेपालले आफ्नो एकदिवसीय (ODI) मान्यता जोगाउने चुनौती पनि सामना गरिरहेको छ। शीर्ष ६ भित्र रहन नेपालले बाँकी ६ मध्ये कम्तीमा ४ खेल जित्न आवश्यक छ। त्यसो हुन नसके नेपाल ओडीआई मान्यता गुमाउने जोखिममा पर्नेछ।
यसैकारण आजको खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै विभागले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब रहेको छ। नामिबियाविरुद्धको जितले मात्र नेपालको विश्वकप ग्लोबल छनोट र ओडीआई मान्यता दुवै आशालाई जीवित राख्नेछ।

प्रतिक्रिया