दुई समूहबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार आइतबार (साउन ११) बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रलाई केन्द्रित गरी कफ्र्यु लागू गरिएको हो।
प्रशासनले हरिनगर बजारको पूर्वमा नुनियतोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्मको क्षेत्रलाई कफ्र्यु क्षेत्र घोषणा गरेको छ।
त्यस्तै, भुटाहा बजारको पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कफ्र्यु लागू गरिएको छ।
कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमासम्मको क्षेत्र कफ्र्यु आदेशभित्र परेको छ।
यस्तै, घुस्की बजारको पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्मको क्षेत्रमा कफ्र्यु लागू गरिएको प्रशासनले जनाएको छ।
देवानगञ्ज बजारमा पूर्वतर्फ विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय क्षेत्रसम्म कफ्र्यु आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कफ्र्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षा अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्म कफ्र्यु क्षेत्रभित्र अनावश्यक आवतजावत नगर्न अनुरोध गरेको छ।


प्रतिक्रिया