सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
घटनामा अन्य ८ जना सर्वसाधारण घाइते भएका छन् भने प्रहरी निरीक्षकसहित ८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। झडपका क्रममा बजार क्षेत्रमा तोडफोड र आगजनी हुँदा ठूलो भौतिक क्षति पुगेको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुई पक्षबीचको झडप नियन्त्रण गर्न प्रहरीले चरणबद्ध रूपमा बल प्रयोग गरेको थियो। सुरुमा अश्रुग्यास प्रहार गरिएको र त्यसपछि हवाई फायर गरिएको थियो। तर, त्यसबाट पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको उनले बताए।डीएसपी खड्काका अनुसार प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो।प्रहरीका अनुसार गोली चलेपछि घाइते भएका अधिकांशलाई गोली लागेको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी विराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादव कोशी अस्पतालमा उपचाररत छन्।
यस्तै २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहता विराट नर्सिङ होममा उपचार गराइरहेका छन्। उनीहरूमध्ये अधिकांशलाई गोली लागेको प्रहरीले जनाएको छ।झडपका क्रममा प्रहरीतर्फ पनि क्षति भएको छ। प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरी निरीक्षक राईको टाउकोमा चोट लागेको छ।त्यसैगरी प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह तथा प्रहरी जवान निवेश यादव पनि घाइते भएका छन्। घाइते सुरक्षाकर्मीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुई समूहबीचको झडपका क्रममा कप्तानगञ्ज बजारका घर, मेडिकल पसल, सवारीसाधन तथा अन्य संरचनामा व्यापक तोडफोड र आगजनी भएको छ। घटनापछि बजार क्षेत्र तनावग्रस्त बनेको छ भने थप अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ।
घटनाको कारण, आगजनीबाट भएको क्षतिको यकिन विवरण तथा झडपमा संलग्न व्यक्तिहरूको पहिचानबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया