भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले उनको राजीनामा स्वीकृत गरेकी हुन्।
राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिअनुसार प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै करिब एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा आन्दोलन भइरहेको थियो। शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता सम्पन्न भएपछि सीजेपीले आन्दोलन स्थगित गर्दै सहभागीहरूलाई घर फर्किन आग्रह गरेको जनाएको छ।
आन्दोलनले गत जुलाई १८ मा नयाँ मोड लिएको थियो। त्यसदिन अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकलाई दिल्ली प्रहरीले आन्दोलनस्थलबाट हटाएर सफदरजंग अस्पतालमा भर्ना गरेको थियो। त्यस घटनापछि जन्तर–मन्तरमा युवाको सहभागिता उल्लेखनीय रूपमा बढेको थियो।
संसद्को मनसुन अधिवेशन सुरु हुने जुलाई २० मा संसद् मार्चको घोषणा गरिए पनि वाङचुकलाई त्यसअघि नै आन्दोलनस्थलबाट हटाइएको थियो। त्यसपछि वाङचुकबिनै संसदतर्फ अघि बढेका आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो। सो क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको तथा प्रदर्शनकारीमाथि कुटपिट भएको आरोप लागेको थियो।
घटनाका भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि यो विषय राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको थियो। त्यसयता धर्मेन्द्र प्रधानको राजीनामासँगै आन्दोलनकारीमाथि बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाहीको माग उठ्दै आएको थियो।
यसैबीच, विपक्षी दलका नेता राहुल गान्धीले अन्य विपक्षी नेतासहित प्रधानमन्त्री निवासबाहिर धर्ना दिँदै आन्दोलनकारीको मागप्रति समर्थन जनाएका थिए।

प्रतिक्रिया