सातै प्रदेशमा नयाँ सत्ता समीकरण

एमाले–नेकपाबीच ३ बुँदे सहमति


देशको प्रदेश राजनीतिमा नयाँ सत्ता समीकरण बनेको छ। नेकपा एमाले र नेकपाबीच सातै प्रदेशमा संयुक्त सरकार गठन तथा सञ्चालन गर्ने विषयमा ३ बुँदे सहमति भएको छ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति पत्रमा हस्ताक्षर गर्दै प्रदेशसभामा सहकार्य, संयुक्त सरकार गठन र राजनीतिक स्थायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन्।सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले लिनेछ। मधेश र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ।

दुवै दलले पछिल्लो समय प्रदेश सरकारहरूमा देखिएको बजेट निर्माणको विवाद, बजेटविहीनताको अवस्था र राजनीतिक अस्थिरताले विकास प्रभावित भएको निष्कर्ष निकाल्दै ती समस्याको समाधानका लागि सहकार्य आवश्यक रहेको बताएका छन्। सहमति पत्रमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने साझा उद्देश्यसमेत उल्लेख गरिएको छ।यो सहमतिको अर्को विशेष पक्ष भनेको विगतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनका मुख्य साक्षी रहेका एमालेका विष्णुप्रसाद पौडेल र नेकपाका वर्षमान पुन पुनः साक्षीका रूपमा देखिनु हो।

प्रचण्डले श्रीलंका भ्रमणअघि नै वर्षमान पुनलाई वार्ताको जिम्मेवारी दिएका थिए भने विशेष अदालतबाट साधारण तारेखमा रिहा भएपछि पौडेल पनि पार्टी गतिविधिमा सक्रिय बनेका छन्।

नयाँ सहमतिसँगै प्रदेश सरकारहरूको नेतृत्व परिवर्तन र सत्ता समीकरणमा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ।