सुनकोशीका नागरिकको सामाजिक सुरक्षा परिचयपत्र दर्ता र नविकरण शिविरमा सेवाग्राहीको घुइँचो


ओखलढुंगाको सुनकोशी गाउँपालिकाका नागरिकका लागि सामाजिक सुरक्षा परिचयपत्र दर्ता तथा नविकरण शिविर काठमाडौंमा सुरु भएको छ । पालिकाले राजधानीमा बसोबास गर्ने लाभग्राहीहरुको सहजताका लागि काठमाडौंमै शिविर सञ्चालन गरेर सेवा दिन सुरु गरेको हो ।

सामाजिक सुरक्षाभक्ता पाउने पालिकाका अधिकांश जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरु राजधानीमा बसोबास गर्ने र गाउँमा पुगेर परिचय पत्र दर्ता र नविकरण गर्न लक्षित वर्गका नागरिकलाई सहज नहुने भएकाले पालिकाले काठमाडौंमा नै सेवा मूलक शिविर आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले बताए । गाडीमा लामो यात्रा गरेर गाउँसम्म जान–आउन लक्षित वर्गका नागरिकलाई कष्टकर र खर्चिलो हुने भएकाले सबै वडा र पालिकाको सामाजिक सुरक्षा सम्बन्धित सेवा शिविर मार्फत उपलब्ध गराइने भएकाले सेवा लिने मौकाको सदुपयोग गर्न उनले अपिल गरेका छन् ।

गाउँपालिका अध्यक्ष कमल तामाङको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरेर शिविर सुरु गरिएको थियो । कार्यक्रमलाई सुनकोशीका संस्थापक अध्यक्ष रुद्रप्रसाद अधिकारी, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राई, कांग्रेस नेता कुमार लुइँटेललगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सहजिकरण सुनकोशीका लेखा प्रमुख भिम ढकालले गरेका थिए ।

सुनकोशी गाउँपालिकाका अधिकांश वडाअध्यक्षसहितका जनप्रतिनिधि, वडासचिव र शाखाका कर्मचारीलगायतले सेवा प्रवाहमा सहजिकरण गरिरहेका छन् ।

सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सुरु भएको शिविर भोलि सम्म सञ्चालन हुनेछ ।

शिविरमा सेवालिने सेवाग्राहीको घुइँचो लागेको छ ।