अमेरिकी राष्ट्रपति ट्रम्पकाे मिडियामाथि व्यंग्य


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन (WHCA) को रात्रिभोज (डिनर) मा मिडियामाथि व्यंग्य र प्रहार गरेका छन्। तीन महिना अघि गोलीकाण्डका कारण स्थगित भएको यो कार्यक्रम प्रेस स्वतन्त्रताको उत्सव मनाउने अवसरका रूपमा पुनः आयोजना गरिएको थियो।

न्यूयोर्क टाइम्स, सीएनएन र वाल स्ट्रीट जर्नल जस्ता सञ्चारमाध्यम, जसलाई ट्रम्पले बारम्बार आलोचना गर्ने र मुद्दा समेत हाल्ने गरेका छन्, ती निकायका पत्रकारहरू पुरस्कार लिन मञ्चमा जाँदा राष्ट्रपति ट्रम्प आफ्नै स्थानमा बसिरहेका थिए।

WHCA कि निवर्तमान अध्यक्ष वेइजिया जियाङ (CBS न्यूजकी पत्रकार) ले अप्रिलमा भएको पहिलो भोजका क्रममा हतियारधारी व्यक्तिलाई नियन्त्रणमा लिइएको घटनालाई स्मरण गर्दै भनिन्, “हामी कुनै पनि हिंसात्मक कार्यलाई अन्तिम शब्द बन्न दिने छैनौँ।”

तर, कार्यक्रमको माहोल तब बदलियो जब ट्रम्पले मिडियालाई “फेक न्यूज” भन्दै व्यंग्य गरे र हलमा उपस्थित धेरै पत्रकारहरूलाई “ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम” (ट्रम्प विरोधी मानसिकता) बाट ग्रसित भएको आरोप लगाए।

आफ्नो सम्बोधनमा WHCA अध्यक्ष जियाङले आगामी वर्षको कार्यक्रम पुनः अप्रिलको गोलीकाण्ड भएकै स्थान, वासिङ्टन हिल्टनमा फर्किने जानकारी दिइन्।

उक्त घटनाका बेला गोली लागेर घाइते भएका अमेरिकी सेक्रेट सर्भिसका अधिकृत भिक्टर गोन्जालेजलाई ट्रम्पले उनको वीरतापूर्ण कार्यका लागि पुरस्कार प्रदान गरे।

ट्रम्पले विजेताहरूसँग हात मिलाए, जसमा ट्रम्प र बदनाम फाइनान्सर जेफ्री एप्स्टिनबीचको सम्बन्धको कभरेजका लागि पुरस्कृत वाल स्ट्रीट जर्नलको टोली पनि समावेश थियो।

कार्यक्रमअघि ह्वाइट हाउसका धेरै पत्रकारहरूले ट्रम्पले मिडियाप्रति कडा र आक्रोशपूर्ण भनाइ राख्ने अनुमान गरेका थिए, किनभने उनी आफूभन्दा केही मिटर मात्रै टाढा बसेका पत्रकारहरूको प्रायः आलोचना गर्ने गर्छन्।

रोयटर्सका अनुसार ट्रम्पले WHCA अध्यक्ष वेइजिया जियाङसँगै डिनरमा हाँस्दै र ठट्टा गर्दै समय बिताए। आफ्नो सम्बोधनका क्रममा ट्रम्प कहिलेकाहीँ सौहार्दपूर्ण र नम्र देखिए। उनले “दोस्रो पटक सधैं राम्रो हुन्छ” भन्दै ठट्टा गरे र अधिकांश मिडियाको सम्मान गर्ने बताए।

“मैले तीन महिनाअघि भनेजस्तै, कार्यक्रम रोकिनु हुँदैन,” ट्रम्पले भने।

तर उनले केही पत्रकारहरूमाथि व्यक्तिगत र तिखो टिप्पणी पनि गरे, जसमध्ये केही हलमै उपस्थित थिए। उहाँको एक घण्टा लामो भाषणमा डेमोक्रेटिक राजनीतिज्ञ र सेलिब्रेटीहरूमाथि पनि प्रहार गरियो।

त्यस्तै, अमेरिकी राष्ट्रपतिले अमेरिकीहरूलाई अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे।

“हामी हाम्रा मतभेदहरू गोलीले होइन, खुला र जीवन्त बहसद्वारा हल गर्छौं,” ट्रम्पले भने। “र बन्दुक बोकेको कुनै पनि सन्की पराजितले यसलाई बदल्न सक्दैन। हामी यस्तो कहिल्यै हुन दिन सक्दैनौँ।”

ट्रम्प कार्यक्रमभर राम्रो मुडमा देखिए र मिडियालाई ठट्टा गर्दै भने, “कहिलेकाहीँ मलाई साँच्चै लाग्छ कि तपाईंमध्ये केहीले मलाई मन पराउनुहुन्न।”

“यो ठाउँ साँच्चै ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ भएका मानिसहरूको अहिलेसम्मकै ठूलो भेला हो,” उनले थपे। “मलाई लाग्छ तपाईंमध्ये केही भाग्यमानी हुनुहुन्छ कि हाम्रो अघिल्लो डिनर बीचैमा रोकियो… नत्र म तपाईंहरूमाथि प्रहार गर्नेवाला थिएँ।”

राष्ट्रपतिले ठट्टा गर्दै भने कि उनी पदबाट हटेपछि समाचार उद्योग “कंगाल” हुनेछ किनकि “रिपोर्टिङ गर्नका लागि कोही बाँकी हुनेछैन।” त्यसपछि उनले ‘Trump 2028’ लेखिएको टोपी लगाएर अर्को कार्यकालका लागि पनि चुनाव लड्ने संकेत गरे।

ह्वाइट हाउस र मिडियाबीचको सम्बन्ध तनावपूर्ण रहेकै बेला यो भव्य डिनर आयोजना भएको हो।

गत हप्ता मात्रै ट्रम्पले चुनाव सुरक्षाबारे आफ्नो प्रमुख भाषण प्रसारण नगर्ने धेरै अमेरिकी टेलिभिजन च्यानलहरूको लाइसेन्स खारेज गरिदिने धम्की दिएका थिए।

अप्रिलको पहिलो डिनरको तुलनामा यो कार्यक्रम निकै सानो बनाइएको थियो। अप्रिलमा २,००० भन्दा बढी मानिस सहभागी भएकामा यस पटक करिब ७०० जना मात्र उपस्थित थिए।

सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको थियो। होटेल वरपरका धेरै ब्लकहरू बन्द गरिएका थिए र प्रहरी तथा नेसनल गार्डको बाक्लो उपस्थिति थियो। पाहुनाहरूलाई QR कोड र परिचयपत्रमार्फत दुई पटक जाँच गरी रिस्टब्यान्ड दिइएको थियो।

एक ठाउँमा त आगन्तुकहरूलाई राइफल बोकेका दुई सेक्रेट सर्भिस अधिकृतहरूकै अगाडिबाट एक लाइनमा हिँड्न लगाइएको थियो।

अप्रिलको गोलीकाण्डका शंकास्पद ३१ वर्षीय कोल थोमस एलेनमाथि अमेरिकी राष्ट्रपतिलाई हत्या गर्ने प्रयास गरेको अभियोग लगाइएको छ।

उनलाई डिनर भइरहेको बलरुमतर्फ जाने भर्‍याङभन्दा केही अगाडि नै एजेन्टहरूले नियन्त्रणमा लिएका थिए।

शनिबार राति उपस्थित अन्य व्यक्तिहरूमा रक्षामन्त्री पिटर हेगसेथ, कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्च, एफबीआई निर्देशक काश पटेल, अर्थमन्त्री स्कट बेसेन्ट र वाणिज्य मन्त्री हावर्ड लुटनिक रहेका थिए।