नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (ई–वालेट) सम्बन्धी व्यवस्था संशोधन गर्दै अब नेपाली नागरिकले वालेट खोल्दा तथा विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ।
भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ (१५औँ संशोधन) अनुसार अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले अब राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखसँग विवरण यकिन गरेर मात्र नयाँ वालेट खोल्नुपर्नेछ।
संशोधित व्यवस्थाअनुसार सबै वालेट प्रयोगकर्ताले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ। साथै, सोही अवधिभित्र मोबाइल एप वा अन्य माध्यमबाट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको स्वघोषणा पनि लिनुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्तालाई परिचयपत्र प्राप्त गरेपछि विवरण अद्यावधिक गर्न नियमित रूपमा जानकारी गराउन पनि भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको छ।विदेशमा रहेका नेपाली नागरिकले भने हालकै व्यवस्थाअनुसार अनलाइनमार्फत ई–वालेट खोल्न सक्नेछन् । तर नेपाल फर्किएको छ महिनाभित्र सम्बन्धित संस्थामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ।
यस्तै, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका लागि भने राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था कायम राखिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया