विश्व क्रिकेट लिग २

नेदरल्यान्ड्ससँग नेपालका लागि ‘गर या मर’ को खेल

शीर्ष चारको आशा कायम राख्न जित अनिवार्य


आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।

सिरिजको पहिलो खेलमा नामिबियासँग ८ विकेटको पराजय बेहोरेको नेपाल आजको खेल जित्दै उत्कृष्ट पुनरागमन गर्ने लक्ष्यमा छ। विश्वकप ग्लोबल क्वालिफायरको दौडमा आफूलाई बलियो बनाउन नेपालका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ।

नेपाल हाल लिग–२ अंकतालिकाको पाँचौँ स्थानमा छ। नेपाली टोलीले २८ खेलबाट २४ अंक जोडेको छ। समान खेलबाट ३२ अंक बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ भने नामिबिया पनि २४ अंकसहित सातौँ स्थानमा छ।

अंकतालिकाको शीर्षस्थानमा अमेरिका ३२ खेलबाट ४३ अंकसहित रहेको छ। दोस्रो स्थानमा स्कटल्यान्डको ३८ अंक, चौथो स्थानमा ओमानको ३१ अंक छ। नेपालपछि क्यानडा २४ अंकसहित छैटौँ स्थानमा छ भने युएई २४ खेलबाट १४ अंकसहित पुछारमा रहेको छ।

नेपालले यस सिरिजमा साउन ११ गते नामिबियासँग पुनः खेल्नेछ भने साउन १३ गते नेदरल्यान्ड्ससँग दोस्रो पटक प्रतिस्पर्धा गर्ने तालिका छ।

विश्वकप लिग–२ बाट विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र पर्नुपर्ने भएकाले नेपाललाई बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित निकाल्नुपर्ने दबाब छ। यद्यपि, एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता कायम राख्न भने शीर्ष ६ भित्र रहनु पर्याप्त हुनेछ।

नेपाली समर्थकहरूको अपेक्षा आजको खेलमा टोलीले पहिलो हार बिर्सेर उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण दुई अंक हात पार्ने रहेको छ।