संविधान संशोधनका लागि सुझाव संकलन सुरु


नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत गठन गरिएको संविधान पुनरावलोकन तथा संशोधन सम्बन्धी सुझाव संकलन उपसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ।

उपसमितिका संयोजक अग्नि प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकमा नेपालको संविधानको कार्यान्वयन, संशोधन आवश्यक देखिएका विषय तथा सुझाव संकलनको कार्यविधिबारे विस्तृत छलफल भएको सदस्य सचिव महेश बर्तौलाले जानकारी दिएका छन्।

बैठकमा संयोजक खरेलसहित महेश बर्तौला, रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरेअमर थापाको उपस्थिति रहेको थियो। पूर्व कानुनमन्त्री माधव प्रसाद पौडेल विज्ञका रूपमा विशेष उपस्थित भएका थिए।

बैठकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक संशोधनका विषयमा केन्द्रित भएर छलफल गरिएको थियो।

छलफलका क्रममा हालसम्म संविधान कार्यान्वयनबाट प्राप्त अनुभव, उपलब्धि तथा व्यवहारमा देखिएका चुनौतीहरूको समीक्षा गरिएको थियो। त्यसैगरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट संविधान संशोधन आवश्यक देखिएका विषयहरूको पहिचान गर्ने विषयमा पनि विचार-विमर्श भएको थियो।

यस्तै, राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रियाबारे पनि बैठकमा छलफल गरिएको छ।

बैठकले प्राप्त हुने सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने कार्यलाई अघि बढाउने निर्णय गरेको सदस्य सचिव बर्तौलाले बताएका छन्।

एमालेले संविधान संशोधनसम्बन्धी सुझावलाई व्यवस्थित रूपमा संकलन गरी आगामी दिनमा संशोधन प्रस्ताव तयार गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ।