काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गर्ने व्यवसायीलाई अघिल्ला सबै वर्षको व्यवसाय कर मिनाहा गर्ने व्यवस्था लागू गरेको छ।
महानगरको १९औँ नगरसभाबाट पारित आर्थिक ऐनअनुसार महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका तर हालसम्म दर्ता नभएका व्यवसायले २०८३ साल असोज मसान्तभित्र दर्ता गरे विगतका सबै वर्षको व्यवसाय कर तिर्नु नपर्ने व्यवस्था गरिएको हो।
आर्थिक ऐनले महानगरभित्र सञ्चालन हुने सबै प्रकारका व्यापार तथा व्यवसायलाई व्यवसायको प्रकृति, पुँजीगत लगानी र कार्यक्षेत्रका आधारमा १२ विधामा वर्गीकरण गर्दै दर्ता तथा नवीकरण शुल्क निर्धारण गरेको छ।
यसअघि व्यवसाय करको आधार वर्ष आर्थिक वर्ष २०७२/७३ कायम गरिएकोमा नयाँ ऐनले त्यसलाई संशोधन गर्दै आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष बनाएको छ।
ऐनअनुसार सबै व्यवसायले २०८३ साल असोज मसान्तभित्र अनिवार्य रूपमा व्यवसाय दर्ता गरिसक्नुपर्नेछ। तोकिएको समयभित्र दर्ता गर्ने व्यवसायीलाई १० प्रतिशत छुटसमेत प्रदान गरिनेछ।
महानगरपालिकाले तोकिएको समयसीमापछि व्यवसाय दर्ता गराएमा अतिरिक्त एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था गरेको छ।
महानगरले कर प्रणालीलाई व्यवस्थित बनाउने, व्यवसायलाई औपचारिक दायरामा ल्याउने र कर प्रशासनलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था लागू गरेको जनाएको छ।

प्रतिक्रिया