इरानी आक्रमणमा चारअमेरिकी सैनिकको मृत्यु


अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले जोर्डनस्थित मुवाफाक सल्ती एयर बेसमा भएको इरानी आक्रमणमा ज्यान गुमाएका दुई अमेरिकी सैनिकको पहिचान सार्वजनिक गरेको छ।

मृत्यु हुनेमा २५ वर्षीय फर्स्ट लेफ्टिनेन्ट टायलर जेम्स फिहान र १९ वर्षीया प्राइभेट इसाबेला गोन्जालेस रहेका छन्। शुक्रबार भएको आक्रमणमा गोन्जालेसको घटनास्थलमै मृत्यु भएको थियो भने फिहानको शनिबार निधन भएको पेन्टागनले जनाएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले उक्त आक्रमणको जिम्मेवारी लिएको छ। आक्रमणमा अन्य केही अमेरिकी सैनिक घाइते भएका थिए, जसमध्ये चार जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। उनीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्।

पेन्टागनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। मार्चयता इरानी आक्रमणबाट अमेरिकी सैनिकको मृत्यु भएको यो पहिलो घटना हो।

यसैबीच, नियन्त्रणमा लिइएको इरानी ड्रोन विस्फोट गराउने क्रममा अर्का एक अमेरिकी सैनिकको पनि मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ। हराइरहेका एक सैनिकको अवशेष पनि जोर्डनमा फेला परेको बताइएको छ।

मृतक चारै सैनिकको सम्मानपूर्वक स्वदेश फिर्ता (Dignified Transfer) बुधबार गरिने अमेरिकी प्रशासनले जनाएको छ।