आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सुरु भएको त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालले आज आफ्नो पहिलो खेलमा नामिबियाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी यस सिरिज नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ। विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन नेपाललाई लिग–२ को शीर्ष चारभित्र रहनुपर्ने भएकाले बाँकी खेलहरूमा लगातार जित निकाल्नु पर्ने दबाब छ।
नेपालले गत जेठमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेका आठ खेलमध्ये ६ खेल जित्दै अंक तालिकामा उल्लेखनीय सुधार गरेको थियो। घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै सातौँ स्थानबाट पाँचौँ स्थानमा उक्लिएको नेपाल अहिले त्यही लयलाई नेदरल्यान्ड्समा पनि कायम राख्ने लक्ष्यमा छ।
हाल नेपालले २८ खेलबाट २४ अंक जोडेको छ। समान खेलबाट ३२ अंक बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ भने २२ अंकसहित नामिबिया सातौँ स्थानमा रहेको छ। शीर्षस्थानमा अमेरिका (४३ अंक), दोस्रोमा स्कटल्यान्ड (३८ अंक) र चौथोमा ओमान (३१ अंक) रहेका छन्। नेपालपछि क्यानडा २४ अंकसहित छैटौँ तथा यूएई १४ अंकसहित पुछारमा छ।
यस ‘साइकल’ अन्तर्गत प्रत्येक टोलीले ३६ खेल खेल्ने व्यवस्था छ। नेपालले अझै आठ खेल खेल्न बाँकी रहेकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम राख्न बाँकी अधिकांश खेलमा जित निकाल्नुपर्ने अवस्था छ। यद्यपि शीर्ष ६ भित्र रहन सके नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता भने जोगाउनेछ।
नेपालले सिरिजको दोस्रो खेल साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यसपछि साउन ११ गते पुनः नामिबिया र साउन १३ गते फेरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, लेग स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, नन्दन यादव, इशान पाण्डे र विनोद भण्डारी रहेका छन्।
नेपालले आजको खेलमा विजयी सुरुआत गर्दै शीर्ष चारको दौडलाई थप बलियो बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया