प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग आज महत्वपूर्ण छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल तथा नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान सहभागी हुने कार्यक्रम रहेको छ।
यस्तै, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ, प्रिया राज रेग्मी तथा अम्बिका प्रसाद पौडेल पनि छलफलमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा नेपालको पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसायको विकास, बीमा क्षेत्रको सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधारका उपाय तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल हुनेछ।
सरकारले पुँजी बजारमा देखिएका चुनौती समाधान गर्दै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, बजारलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउने तथा वित्तीय क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यका साथ सरोकारवालासँग प्रत्यक्ष संवाद अघि बढाएको बताइएको छ।
यस छलफलबाट पुँजी बजार सुधार, धितोपत्र तथा बीमा क्षेत्रको दीर्घकालीन विकासका लागि आवश्यक नीतिगत सुझाव संकलन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया