पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत माउन्टेन गाइड, लिडर तथा ट्रेकिङ गाइडहरूको डिजिटल सीप अभिवृद्धि गर्दै देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक विशेष ‘कन्टेन्ट क्रिएसन’ (सामग्री निर्माण) तालिम आयोजना हुने भएको छ।
नेपाल पर्यटन बोर्ड (NTB), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को दिगो पर्यटन परियोजना (STP) र माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (MoGAN) को संयुक्त सहकार्यमा यो तालिम सञ्चालन हुन लागेको हो। यसै सिलसिलामा तालिममा सहभागी हुन चाहने योग्य गाइडहरूका लागि औपचारिक रूपमा आवेदन खुला गरिएको छ।
१८ घण्टा अवधिको यस तालिमका लागि देशभरबाट ५० जना सहभागीहरू छनोट गरिनेछ । तालिमका लागि आवेदन शुल्क दुई हजार रुपैयाँ तोकिएको छ भने यसबाहेक तालिमको अन्य कुनै अतिरिक्त शुल्क लाग्ने छैन।
इच्छुक डिजिटल क्रिएटर तथा गाइडहरूले आगामी २०८३ साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन्। यो तालिमलाई थप समावेशी बनाउनका लागि योग्य आवेदकहरूमध्ये महिला, दलित, जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा अन्य पिछडिएका समुदायका उम्मेदवारहरूलाई छनोटमा विशेष प्राथमिकता दिइने आयोजकले जनाएका छन्।
तालिम लिइसकेपछि सहभागीहरूका लागि एउटा अनिवार्य सर्त पनि राखिएको छ, जसअनुसार उनीहरूले तालिम सकिएको तीन महिनाभित्र अपि सैपाल, मनास्लु र कञ्चनजङ्घा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कम्तीमा पाँच वटा भिडियो सामग्रीहरू तयार पार्नुपर्नेछ।


प्रतिक्रिया