सोलुखुम्बुमा ५७.५५ प्रतिशत धान रोपाइँ सम्पन्न


सोलुखुम्बु जिल्लामा यस वर्षको धान रोपाइँ ५७.५५ प्रतिशत सम्पन्न भएको छ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुको पछिल्लो तथ्याङ्कअनुसार वर्षे धान लगाइने कुल १ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ७०५.०५ हेक्टरमा रोपाइँ सकिएको छ भने बाँकी क्षेत्रमा रोपाइँ कार्य जारी रहेको छ।

स्थानीय तहगत विवरणअनुसार लिखुपिके गाउँपालिका धान रोपाइँ शत प्रतिशत सम्पन्न गर्ने पहिलो स्थानीय तह बनेको छ। यहाँ धान खेती हुने १३५ हेक्टर क्षेत्रफलमा पूर्ण रूपमा रोपाइँ सकिएको छ।महाकुलुङ गाउँपालिकामा १५ हेक्टरमध्ये १३ हेक्टर (८६.६७ प्रतिशत), माप्यदूधकोशी गाउँपालिकामा ४५ हेक्टरमध्ये ३६ हेक्टर (८० प्रतिशत) र सोताङ गाउँपालिकामा १६५ हेक्टरमध्ये १०७.२५ हेक्टर (६५ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।

त्यसैगरी नेचासल्यान गाउँपालिकामा ३६० हेक्टरमध्ये २०८.८ हेक्टर (५८ प्रतिशत) र सोलुदूधकुण्ड नगरपालिकामा ३० हेक्टरमध्ये १५ हेक्टर (५० प्रतिशत) क्षेत्रमा धान रोपाइँ सकिएको छ।

जिल्लाकै सबैभन्दा बढी धान खेती हुने थुलुङ दूधकोशी गाउँपालिकामा भने ४७५ हेक्टरमध्ये १९० हेक्टर (४० प्रतिशत) क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। हिमाली भूगोलका कारण खुम्बुपासाङल्हामु गाउँपालिकामा धान खेती नहुने भएकाले त्यहाँ रोपाइँ शून्य रहेको छ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बाली संरक्षण अधिकृत परमेश्वर चमारका अनुसार यस वर्ष मनसुन समयमै सक्रिय भई पर्याप्त वर्षा भएकाले किसानले खेत जोत्न, हिलो बनाउन र समयमै रोपाइँ गर्न सहज भएको छ। “गत वर्ष कतिपय स्थानमा वर्षा ढिलो हुँदा रोपाइँ प्रभावित भएको थियो। यस वर्ष मौसमले साथ दिएकाले किसानले समयमै बीउ उमार्न, बेर्ना तयार गर्न र खेतमा रोप्न सकेका छन्, जसले रोपाइँको प्रगति सन्तोषजनक देखिएको छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार कृषि ज्ञान केन्द्रले स्थानीय तहका कृषि शाखासँग समन्वय गरी किसानलाई प्राविधिक सुझाव, रोग तथा कीरा व्यवस्थापन र खेती व्यवस्थापनसम्बन्धी परामर्श उपलब्ध गराउँदै आएको छ, जसले रोपाइँ कार्यलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ।