ओखलढुंगाको सुनकोशी गाउँपालिकाले काठमाडौंमा बसोबास गरिरहेका सामाजिक सुरक्षा सेवा लिने लाभग्राहीलाई लक्षित गरी राजधानीमै सामाजिक सुरक्षा परिचयपत्र दर्ता तथा नवीकरण शिविर सञ्चालन गर्ने भएको छ । सामाजिक सुरक्षा नियमावली, २०७६ तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ बमोजिम सामाजिक सुरक्षा लाभग्राहीको परिचयपत्र प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार काठमाडौंमा बसोबास गरिरहेका लाभग्राहीलाई सहज र पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले शिविर सञ्चालन गर्न लागेको हो ।
काठमाडौंमा बसोबास गर्ने सयौं नागरिकलाई सामाजिक सुरक्षा परिचयपत्र दर्ता तथा नवीकरणका लागि वडा वा गाउँपालिका कार्यालयसम्म पुग्दा समय र खर्च दुवै बढी लाग्ने भएकाले राजधानीमै शिविर आयोजना गरी सेवा प्रदान गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कमल तामाङले साझा प्रेसलाई बताए । ‘जनताको सेवाका लागि गाउँपालिका जहाँ पुग्नुपर्ने हो, त्यहाँ पुगेर सेवा दिने उद्देश्यले काठमाडौंमा शिविर सञ्चालन गर्न लागेका हौं,’ अध्यक्ष तामाङले भने, ‘सेवाग्राहीलाई गाउँपालिका वा वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउँदै सहज, सरल र पहुँचयुक्त सेवा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो ।’ नागरिक स्तरका समस्या समाधान र सहज सेवाका लागि पालिकाले योजनावद्द काम गर्ने बताए ।
शिविर २०८३ साउन ९ र १० गते काठमाडौंको नयाँबानेश्वरस्थित नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ।
शिविरमार्फत सामाजिक सुरक्षा परिचयपत्र दर्ता तथा नवीकरणका साथै उपलब्ध राष्ट्रिय परिचयपत्र कार्डसमेत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले बताए ।
गाउँमा जनताको घरदैलोमै र शहरमा बसोबास रहेकै नजिक सेवा पुर्याउने विगतको अभ्यास अनुरुप आयोजना गरिएको यो शिविरबाट काठमाडौंमा रहेका लाभग्राही प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया