रास्वपामा मनोनीत पदाधिकारीमा सकस, महामन्त्रीमा सुदीप ढकालको नाम चर्चामा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्य चयनको प्रक्रिया अझै टुंगिन सकेको छैन।

पार्टीभित्र आन्तरिक सहमति जुट्न नसक्दा विधानअनुसार मनोनीत हुने पदहरूको पूर्ति हुन नसकेको नेताहरूले बताएका छन्।

यसैबीच मनोनीत महामन्त्रीका लागि प्रधानमन्त्री बालेन शाह पक्षबाट सुदीप ढकालको नाम चर्चामा आएको छ। पहिलो महाधिवेशनबाट १,४३९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका ढकाल हाल प्रधानमन्त्री शाहको सचिवालयमा प्रशासन प्रमुखका रूपमा कार्यरत छन्। प्रधानमन्त्री बालेननिकट एक रास्वपा नेताका अनुसार आफ्नो पक्षबाट महामन्त्रीमा ढकालको नाम अघि सारिएको छ। महाधिवेशनका क्रममा पनि ढकाललाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन बालेन पक्षका नेताहरू सक्रिय रहेको दाबी गरिएको छ।स्रोतका अनुसार बालेन पक्ष यसअघि महामन्त्री बनेका भूपदेव शाहलाई सोही पदमा निरन्तरता दिने पक्षमा छैन। महामन्त्रीका रूपमा उनको भूमिका अपेक्षाअनुसार प्रभावकारी नभएको निष्कर्ष निकाल्दै नयाँ नेतृत्व अघि सार्न खोजिएको ती नेताको भनाइ छ।

रास्वपा विधानअनुसार सभापतिलाई ११ जना पदाधिकारी मनोनीत गर्ने अधिकार छ। साथै, ५१ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्न सकिने व्यवस्था छ। तर विभिन्न समूहबीच सहमति जुट्न नसक्दा मनोनयन प्रक्रिया रोकिएको छ। पार्टीका एक नेताका अनुसार मनोनीत हुने ५१ जना केन्द्रीय सदस्यमध्ये बालेन पक्षबाट १८ जनालाई समेट्ने गरी आन्तरिक छलफल भइरहेको छ। बालेन पक्षबाट सांसद नभएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर केन्द्रीय सदस्य बनाउने तयारी रहेको ती नेताले बताए।यस्तै, पार्टी स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङले पनि मनोनयन प्रक्रियामा आफ्नो पक्षबाट प्रतिनिधित्व हुनुपर्ने धारणा राखेका छन्। स्रोतले ‘जेनजी’ (Gen Z) उमेर समूहबाट सात जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने प्रस्ताव अघि सारिएको दाबी गरेको छ।

यद्यपि रास्वपाका एक शीर्ष नेताले भने गृहमन्त्री गुरुङले प्रत्यक्ष रूपमा भागबन्डा नमागेको, तर आफू निकट मानिने व्यक्तिहरूलाई केन्द्रीय सदस्यमा समेट्नुपर्ने धारणा मात्रै राखेको बताएका छन्।

रास्वपाले भने मनोनीत पदाधिकारी र केन्द्रीय सदस्य चयनबारे अहिलेसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन। पार्टीभित्र सहमतिको प्रयास जारी रहेकाले मनोनयन प्रक्रिया त्यसपछि मात्रै टुंगिने बताइएको छ।