एमालेलाई एक्ल्याउने प्रयास जारी छ: ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास अझै जारी रहेको बताएका छन्। उनले एमाले कुनै पनि परिस्थितिमा अरूको सहारामा उभिने पार्टी नभई आफ्नै शक्ति र जनआधारका बलमा अघि बढ्ने स्वतन्त्र राजनीतिक शक्ति भएको दाबी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीले विभिन्न समयमा चुनौती र धक्का बेहोरे पनि कमजोर नभएको उल्लेख गरे।

उनले एमालेले विगतमा अनेकौँ राजनीतिक उतारचढाव, आँधी, हुरी, बाढी र सङ्कटको सामना गर्दै आफ्नो अस्तित्व कायम राखेको भन्दै अब पनि नवीकृत भएर अघि बढ्ने विश्वास व्यक्त गरे।

“हामीले धक्का खाएका छौं, धक्का खाएको हो, सिद्धिएको होइन। हामी फेरि नवीकृत भएर अघि बढ्नेछौं,” अध्यक्ष ओलीले भने।

उनले एमालेलाई एक्ल्याउने प्रयास भइरहे पनि त्यसबाट पार्टी विचलित नहुने बताए।

“हामी यस्तो लहरो होइनौं, जसले अर्कालाई नसमाती उठ्नै सक्दैन। एमाले एउटा स्वतन्त्र, दह्रो र विशाल वृक्ष हो। हामी अरूको बलमा उभिएका होइनौं,” उनले भने।

ओलीले परिस्थितिअनुसार चुनौती आउनु स्वाभाविक भए पनि एमाले आफ्नै खुट्टामा उभिएको पार्टी भएकाले भविष्यमा पनि आफ्नै बलमा अघि बढ्ने बताए।

‘गोएबल्स शैलीभन्दा पनि महागोएबल्स शैलीको झूट फैलाइएको छ’

कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय समाजमा झूटलाई सत्यका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे। एमालेविरुद्ध योजनाबद्ध रूपमा झूट प्रचार गरेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको उनको आरोप थियो।

उनले अहिलेको अवस्थालाई जर्मनीका नाजी प्रचारमन्त्री जोसेफ गोएबल्सको प्रचारशैलीभन्दा पनि अगाडि पुगेको दाबी गरे।

“कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखाउने प्रवृत्ति अहिले गोएबल्स शैलीभन्दा पनि महागोएबल्स शैलीमा पुगेको छ,” ओलीले भने।

उनका अनुसार समाजमा निरन्तर दोहोरिने झूटलाई सत्य ठान्ने प्रवृत्ति बढ्दै गएको छ, जसले लोकतान्त्रिक राजनीति र सामाजिक चेतनामाथि नकारात्मक प्रभाव पारिरहेको छ।

प्रतिकूलतामा नआत्तिने पार्टी

अध्यक्ष ओलीले एमाले अनुकूल परिस्थितिमा मात्र उत्साहित हुने र प्रतिकूल अवस्थामा निराश हुने पार्टी नभएको पनि बताए। उनले पार्टीले सबै चुनौतीको सामना गर्दै अघि बढ्ने र आफ्नै बलमा पुनः सशक्त रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

उनले पार्टीका कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै संगठनलाई थप सुदृढ बनाउने अभियानमा जुट्न निर्देशन दिएका छन्।