काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि सार्वजनिक गरेको नयाँ निक्षेप ब्याजदरले बैंकिङ प्रणालीमा ब्याजदर अझै घट्दो क्रममा रहेको देखाएको छ। व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारको तुलनामा घटेपछि आगामी दिनमा कर्जाको ब्याजदर पनि थप सस्तो हुने अपेक्षा गरिएको छ।
बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारमा ४.२५८ प्रतिशत रहेकामा साउनमा घटेर ४.१६७५ प्रतिशतमा पुगेको छ। अर्थात् औसत ०.०९०५ प्रतिशत बिन्दुले कमी आएको हो।
यस्तै संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि असारको ३.१८ प्रतिशतबाट घटेर साउनमा ३.११६ प्रतिशतमा झरेको छ। यसमा औसत ०.०६४ प्रतिशत बिन्दुले गिरावट आएको छ।
६ बैंकले घटाए ब्याजदर
२० वाणिज्य बैंकमध्ये ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १४ बैंकले असारकै दरलाई निरन्तरता दिएका छन्।
ब्याजदर घटाउने बैंकमा एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन्।
सबैभन्दा धेरै कटौती राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.७५ प्रतिशतबाट ४ प्रतिशतमा झार्दै ०.७५ प्रतिशत बिन्दुले घटाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशतबाट ४ प्रतिशतमा झार्दै ०.५० प्रतिशत बिन्दुले कटौती गरेको छ।
एनएमबी बैंकले ४.७५ प्रतिशतबाट ४.५० प्रतिशतमा, सिटिजन्स बैंक इन्टरनेसनलले ४.१० प्रतिशतबाट ३.९५ प्रतिशतमा, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशतबाट ३.८५ प्रतिशतमा तथा कुमारी बैंकले ३.९१ प्रतिशतबाट ३.८५ प्रतिशतमा ब्याजदर घटाएका छन्।
यता नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक र प्राइम कमर्सियल बैंकले भने असारकै ब्याजदरलाई कायम राखेका छन्।
नेपाल बैंकले बढायो संस्थागत निक्षेपको ब्याज
साउनमा नेपाल बैंकले मात्रै संस्थागत मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरेको छ। व्यक्तिगत निक्षेपको ब्याजदर ४.२५ प्रतिशतमै स्थिर राखे पनि संस्थागत निक्षेपको अधिकतम ब्याजदर ३ प्रतिशतबाट ४ प्रतिशत पुर्याएको छ, जुन साउन महिनाको सबैभन्दा ठूलो वृद्धि हो।
उता राष्ट्रिय वाणिज्य बैंकले संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशतबाट ३ प्रतिशतमा झार्दै १ प्रतिशत बिन्दुले कटौती गरेको छ। एनएमबी बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले समान ०.५० प्रतिशत बिन्दुले तथा ग्लोबल आइएमई बैंकले ०.२५ प्रतिशत र कृषि विकास बैंकले ०.०३ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।
सबैभन्दा बढी र कम ब्याज कुन बैंकमा ?
व्यक्तिगत मुद्दती निक्षेपतर्फ साउन महिनामा नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत अधिकतम ब्याजदर कायम गर्दै सबैभन्दा बढी प्रतिफल दिने बैंक बनेका छन्।
त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।
सबैभन्दा कम व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकको ३.८५ प्रतिशत रहेको छ।
संस्थागत मुद्दती निक्षेपतर्फ नेपाल बैंकले ४ प्रतिशत अधिकतम ब्याजदर कायम गर्दै शीर्ष स्थानमा रहेको छ। त्यसपछि एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक र हिमालयन बैंकले ३.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।
सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर प्रभु बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कृषि विकास बैंकले कायम गरेका छन्।

प्रतिक्रिया