६० दिनदेखि सम्पर्कविहीन २३ स्वास्थ्यकर्मी


स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीलाई अन्तिम मौका दिँदै १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार लामो समयसम्म सम्पर्कविहीन रहेका कर्मचारीविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाइएको जनाएको हो।

सूचनाअनुसार, सम्बन्धित कर्मचारीहरू बिना स्वीकृत बिदा लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहेको पुष्टि भएकाले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ उपदफा (१) को खण्ड (ज) तथा दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने भन्ने विषयमा स्पष्टीकरण मागिएको छ।

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो अनुपस्थितिको उचित कारणसहित लिखित सफाइ पेश गर्न सम्बन्धित कर्मचारीहरूलाई निर्देशन दिएको छ। तोकिएको अवधिभित्र स्पष्टीकरण नआए प्रचलित कानुनअनुसार थप विभागीय कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

कारबाहीको दायरामा पर्ने कर्मचारीहरू कान्ति बाल अस्पताल महाराजगञ्ज, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत रहेका मन्त्रालयले जनाएको छ।