कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका सबै मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। आज बिहान बोलाइएको मन्त्रिपरिषद् बैठकअघि कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन्।
४० सदस्यीय कर्णाली प्रदेश सभामा ७ सदस्यीय मन्त्रिपरिषद् रहेको छ। जसमा कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएका थिए। मन्त्रिपरिषद्मा कांग्रेसबाट ४ र एमालेबाट मुख्यमन्त्रीसहित ३ जना मन्त्री सहभागी थिए। कांग्रेसका सबै मन्त्रीहरूले एकमुष्ट राजीनामा दिएसँगै तत्कालका लागि कँडेल नेतृत्वको सरकार संकटमा परेको छ।
राजीनामा दिने मन्त्रीहरू:
- घनश्याम भण्डारी – सामाजिक विकास मन्त्री
- राजीवविक्रम शाह – आर्थिक मामिला तथा योजना मन्त्री
- सुरेश अधिकारी – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री
- विजया बुढा – जलस्रोत तथा ऊर्जा विकास मन्त्री
राजीनामा बुझाएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफूहरूले मार्गप्रशस्त गरेको बताए। उनले भने, “मुख्यमन्त्रीज्यूलाई भेटेर हामीहरूले जनताको काम राम्रोसँग गर्नुहोला, हामीले मार्गप्रशस्त गर्यौं भनेका छौं।”
यो राजीनामा कर्णालीमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने जमर्को हो कि भन्ने प्रश्नमा मन्त्री भण्डारीले स्पष्ट पार्दै थपे, “अहिले हामीले त्यहाँसम्म सोचिसकेका छैनौँ। मुख्यमन्त्रीज्यूलाई जनताको काम राम्रोसँग गर्नुहोस् है मात्र भनिएको छ।”
कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामासँगै कर्णाली प्रदेशको सत्ता समीकरण र राजनीतिक परिदृश्यमा नयाँ तरंग पैदा भएको छ।

प्रतिक्रिया