चीनको डिङ्ग्री राज्यद्वारा थुलुङ दुधकोशी गाउँपालिकालाई स्काभेटर र रोलर प्रदान


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चीनको डिङ्ग्री राज्यबाट रु. २ करोड १७ लाख मूल्य बराबरको एक थान स्काभेटर र एक थान रोलर अनुदानस्वरूप प्राप्त गरेको छ।

दुई वर्षअघि गाउँपालिकाका संस्थापक अध्यक्ष असिम राईले राख्नुभएको प्रस्तावको आधारमा डिङ्ग्री राज्यले यी उपकरणहरू सहयोग गरेको हो । नेपाल-चीन सीमाना तातोपानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच चिनियाँ अधिकारीहरूले गाउँपालिका टोलीलाई सो उपकरण हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा चीनका सहायक गभर्नर Nyi Gui र वैदेशिक मामिला कार्यालयका उपनिर्देशक Tu Dor ले नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै आगामी दिनमा पनि थुलुङ दुधकोशी गाउँपालिकालाई आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।उपकरण बुझ्दै गाउँपालिकाकी कार्यवाहक अध्यक्ष सविता राईले संस्थापक अध्यक्ष असिम राईको निरन्तर पहलका कारण यो सहयोग सम्भव भएको बताउनुभयो। उहाँले प्राप्त स्काभेटर र रोलरलाई गाउँपालिकाको सडक निर्माण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका कार्यमा प्रभावकारी रूपमा परिचालन गरिने जानकारी दिनुभयो।

कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष असिम राईले आफ्नो कार्यकालमा देखेको एउटा महत्वपूर्ण सपना साकार भएको भन्दै डिङ्ग्री राज्यप्रति आभार प्रकट गर्नुभयो। उक्त कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्की, इन्जिनियर नागेन्द्र बस्नेत, शाखा प्रमुख कुमार खड्का तथा चीनको तर्फबाट वैदेशिक मामिलाका कर्मचारी Sonam Tsering लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिकाको तर्फबाट चिनियाँ टोलीलाई मायाको चिनो र प्रशंसा पत्र समेत प्रदान गरिएको थियो।