कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिष्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको नेतृत्व चयन गर्ने निर्णय गरेको हो। सरकारको निर्णयअनुसार प्रतिष्ठानको अध्यक्षमा मोरङका अग्रज पत्रकार दीपक दाहाल नियुक्त हुनुभएको छ ।
त्यस्तै, प्रदेश प्रेस रजिष्ट्रारमा सुनसरीका पत्रकार लिलाराज भट्टराई नियुक्त हुनुभएको छ। प्रतिष्ठानका सदस्यहरूमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजवंशी (झापा) र ध्रुव ढकाल (सुनसरी) नियुक्त भएका छन् ।
कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ अनुसार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।राजपत्रमा प्रकाशित प्रस्तावनाअनुसार प्रदेशभित्र स्थापना हुने वा सञ्चालनमा रहेका आमसञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणलाई व्यवस्थित गर्न प्रतिष्ठान गठन गरिएको हो।
यस ऐनले स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा नागरिकप्रति जवाफदेही आमसञ्चार माध्यमको विकास र प्रवर्द्धन गर्ने, सञ्चार क्षेत्रसँग प्रभावकारी समन्वय कायम गर्ने तथा क्रियाशील पत्रकार र सञ्चारकर्मीहरूको व्यावसायिक हित अभिवृद्धि गर्ने उद्देश्य लिएको प्रदेश सरकारले जनाएको छ।

प्रतिक्रिया