वर्षाले बीपी राजमार्ग अवरुद्ध, सवारी रोशीमै रोकिए


काठमाडौं । रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भएपछि काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार दिउँसो सूचना जारी गर्दै वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले अर्को सूचना जारी नभएसम्म राजमार्गमा सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार सडकको अवस्थाको निरन्तर अनुगमन भइरहेको छ। सडक सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गरी सवारी आवागमन पुनः सञ्चालन गरिने उनले बताए ।

प्रहरीले यात्रु तथा चालकलाई अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा बीपी राजमार्ग हुँदै यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै प्रस्थान गर्न आग्रह गरेको छ ।

थप जानकारीका लागि नेपाल प्रहरीको आपतकालीन नम्बर १००, ट्राफिक प्रहरीको नम्बर १०३ तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको नम्बर १२३४ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।