डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो


काठमाडौं । मनसुन सक्रिय भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्न थालेको भन्दै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाअन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार लगातार वर्षा भएपछि विभिन्न स्थानमा पानी जम्ने क्रम बढेकाले डेङ्गी सार्ने लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बनेको छ ।

‘केही दिनयता परेको वर्षाका कारण डेङ्गीको जोखिम बढ्ने सम्भावना छ,’ उनले भने, ‘जमेको सफा पानीमा डेङ्गी सार्ने लामखुट्टे हुर्किने भएकाले अहिले विशेष सावधानी अपनाउन आवश्यक छ ।’

उनका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म देशभर ६३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । दैनिकजसो वर्षा भइरहेकाले सडक, घर वरपर तथा पानी जम्न सक्ने खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि भई सङ्क्रमण फैलिन सक्ने जोखिम रहेको उनले बताए ।

डा. दाहालले डेङ्गीबाट बच्न घर वरपर पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, पानी राख्ने भाँडालाई ढाकेर राख्ने, झ्याल–ढोकामा जाली प्रयोग गर्ने तथा सुत्दा झुल प्रयोग गर्न सुझाव दिए ।

उनका अनुसार नेपालमा डेङ्गी सङ्क्रमणको जोखिम विशेषगरी असारदेखि कात्तिकसम्म उच्च रहने गर्छ ।

‘डेङ्गी सार्ने एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्छन् । ती फुलबाट निस्किएको लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी फैलाउने भएकाले पानी जम्ने सम्भावित स्थानको नियमित सरसफाइ गर्नुपर्छ,’ उनले भने ।