नयाँ प्रणालीबाट राहदानी वितरण सुरु


सरकारले नयाँ प्रविधिमा आधारित प्रणालीमार्फत राहदानी (पासपोर्ट) वितरण सेवा औपचारिक रूपमा सुरु गरेको छ।

सोमबार राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले सेवाग्राही ओस्कार गुरुङ र निमेश शाहीलाई नयाँ प्रणालीबाट तयार गरिएको राहदानी हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन्। यसअघि करिब १५ वर्षदेखि फ्रान्सेली कम्पनी आईडिमिया (IDEMIA) ले नेपालको राहदानी छाप्दै आएको थियो । अबदेखि जर्मन कम्पनीको प्रविधि र प्रणालीमार्फत राहदानी उत्पादन तथा वितरण गरिने भएको छ।

राहदानी विभागका अनुसार नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ।

मन्त्री खनालले नयाँ प्रणाली सञ्चालनका लागि केही दिनदेखि राहदानी विभाग तथा विदेशस्थित नेपाली नियोगहरूमा राहदानी वितरण सेवा स्थगित गरिएको स्मरण गराउँदै अब नयाँ प्रणालीबाट सेवा नियमित रूपमा सञ्चालनमा आएको बताए।

उनले प्रारम्भिक परीक्षणमा प्रणाली प्रभावकारी देखिए पनि प्रक्रियागत रूपमा सामान्य प्राविधिक समस्या आउन सक्ने सम्भावना रहेकाले राहदानी विभाग र परराष्ट्र मन्त्रालयका प्राविधिक टोलीलाई स्ट्यान्डबाइ अवस्थामा राखिएको जानकारी दिए।