कोशी अस्पतालको जग्गा फिर्ता अभियान सुरु


कोशी अस्पतालले वर्षौँदेखि अतिक्रमणमा रहेको आफ्नो जग्गा फिर्ता लिने अभियान सुरु गरेको छ।

सार्वजनिक सूचना दिइएको सातदिने म्याद सकिएपछि सोमबार बिहानैदेखि अस्पताल परिसर र आसपासका क्षेत्रमा डोजर परिचालन गरी अतिक्रमित संरचना हटाउन थालिएको हो। अस्पताल प्रशासनले आफ्नो गुरुयोजना कार्यान्वयन तथा सेवा विस्तारका लागि जग्गा खाली गराउन अभियान अघि बढाएको जनाएको छ।

अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए। तीमध्ये केही संरचनामा औषधि पसल, चिकित्सकका क्लिनिक तथा अन्य व्यवसाय सञ्चालन हुँदै आएको थियो।

संभावित विरोध र अवरोधलाई मध्यनजर गर्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अस्पतालले यसअघि पटक–पटक संरचना हटाउन आग्रह गरे पनि कार्यान्वयन हुन सकेको थिएन। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले अतिक्रमित सम्पूर्ण संरचना हटाएर अस्पतालकै सेवा विस्तार, पूर्वाधार विकास र संस्थागत प्रयोजनका लागि जग्गा उपयोग गरिने बताए।

यद्यपि, डोजर अभियानसँगै रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा तथा क्षयरोग निवारण संस्थाको सेवा प्रभावित हुने अवस्था सिर्जना भएको छ। सम्बन्धित संस्थाहरूका लागि वैकल्पिक व्यवस्थापन कसरी गरिने भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।

गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमनपछि अस्पतालको जग्गा तत्काल खाली गराउन निर्देशन दिएका थिए। त्यसपछि अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो।