काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई क्षेत्र नजिक रहेकाले अधिकांश भूभागमा वर्षा हुने अवस्था बनेको हो।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भूभागमा मेघगर्जन–चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थान तथा मधेशसहित तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने अनुमान छ। विशेषगरी कोशी र बागमती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। गण्डकी र लुम्बिनीका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
विभागले सक्रिय मनसुनका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम रहने भएकाले सतर्क रहन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया