फिफा विश्वकप-२०२६

विश्वकपको सेमिफाइनल कस्ताे हाेला ?

फिफा वरीयताका शीर्ष चार टोली पहिलोपटक भिड्दै


काठमाडौं । विश्व फुटबलको इतिहासमा पहिलोपटक फिफा वरीयताका शीर्ष चार टोली एकैसाथ विश्वकपको सेमिफाइनलमा पुगेका छन्। फिफा वरीयतामा क्रमशः शीर्ष स्थानमा रहेका स्पेन, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्ड अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन्।

यसपटक फिफाले २०२६ विश्वकपका लागि अपनाएको नयाँ ड्र प्रणालीले पनि यो उपलब्धिलाई सहज बनाएको विश्लेषण गरिएको छ। शीर्ष वरीयताका चारै टोलीलाई सुरुमै फरक–फरक समूहमा राखिएकाले सेमिफाइनलअघि उनीहरूबीच प्रतिस्पर्धा हुने सम्भावना रहेन।

यो व्यवस्था सफल हुन सबै टोलीले आफ्नो समूहमा शीर्ष स्थान हासिल गर्नुपर्ने थियो, जुन चारै टोलीले पूरा गरे। त्यसका कारण स्पेन र अर्जेन्टिनाको भेट फाइनलअघि सम्भव भएन भने फ्रान्स र इंग्ल्यान्डलाई पनि प्रतियोगिताको विपरीत भागमा राखिएको थियो।

फिफाले यस व्यवस्थालाई ‘प्रतिस्पर्धात्मक सन्तुलन’ कायम गर्ने उद्देश्यका साथ लागू गरेको जनाएको छ। यसले प्रतियोगितामा दुई छुट्टाछुट्टै नकआउट मार्ग तय गरेको थियो।

अब सेमिफाइनलमा मंगलबार स्पेन र फ्रान्स आमनेसामने हुनेछन् भने बुधबार अर्जेन्टिना र इंग्ल्यान्ड बीच दोस्रो सेमिफाइनल खेल हुनेछ।

यस प्रकारको ‘सिडिङ’ प्रणाली विम्बल्डन टेनिस तथा यूईएफए च्याम्पियन्स लिगको नयाँ ढाँचामा पनि प्रयोग हुँदै आएको छ, जहाँ शीर्ष खेलाडी वा टोलीहरूलाई प्रतियोगिताको सुरुआती चरणमै एकअर्कासँग भिड्नबाट जोगाइन्छ।

फिफा वरीयता प्रणाली सन् १९९४ देखि लागू भए पनि विश्वकपमा यस प्रकारको ड्र व्यवस्थाको प्रयोग यसअघि गरिएको थिएन। विगतका संस्करणमा शीर्ष वरीयताका टोलीहरू प्रायः अपेक्षाविपरीत प्रारम्भिक चरणमै बाहिरिने गरेका थिए।

सन् २०२२ मा बेल्जियम, २०१८ मा जर्मनी, २०१४ मा स्पेन, २०१० मा इटाली र २००२ मा फ्रान्स शीर्ष वरीयतामा रहे पनि समूह चरणबाटै बाहिरिएका थिए। सन् १९९८ यता कुनै पनि विश्वकपमा शीर्ष चार वरीयताका सबै टोली एकैसाथ सेमिफाइनल पुगेका थिएनन्।

४८ टोली सहभागी हुने नयाँ विश्वकप ढाँचामा अतिरिक्त नकआउट चरण थपिएकाले शीर्ष टोलीहरू सुरुमै आमनेसामने हुने सम्भावना बढेको थियो। त्यसलाई व्यवस्थापन गर्न फिफाले ड्र प्रक्रियामा सामान्य परिवर्तन गरेको हो।

फिफाको उद्देश्य प्रतियोगिताको अन्तिम चरणसम्म शीर्ष टोलीहरूलाई प्रतिस्पर्धामा कायम राख्दै दर्शकलाई उच्चस्तरीय र आकर्षक खेल उपलब्ध गराउनु रहेको बताइएको छ। यसपटक भने फिफाले अपेक्षा गरेअनुसार शीर्ष चार वरीयताका सबै टोली सेमिफाइनलमा पुग्न सफल भएका छन्।