चितवन । देशका विभिन्न क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएपछि उपभोक्तामा बढेको अन्योलबीच विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुको जोखिम नहुने बताएका छन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. होमबहादुर बस्नेतका अनुसार बर्डफ्लुको भाइरस काँचो मासुमा हुन सक्छ, तर पर्याप्त तापमा पकाएपछि भाइरस नष्ट हुने भएकाले मासु र अण्डा खान सुरक्षित हुन्छ।
उनले काँचो मासु राखिएको भाँडालाई भने अनिवार्य रूपमा सफा र निःसंक्रमित गर्न सुझाव दिए। तातोपानी प्रयोग गरेर भाँडा राम्रोसँग सफा गर्दा संक्रमणको जोखिम हटाउन सकिने उनको भनाइ छ।
बर्डफ्लु विशेषज्ञसमेत रहेका प्रा. डा. बस्नेतका अनुसार करिब ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा भाइरस निष्क्रिय हुन थाल्छ। उनले बर्डफ्लु संक्रमित कुखुराले अण्डा नपार्ने भएकाले बजारमा उपलब्ध अण्डा सुरक्षित हुने बताए। साथै, संक्रमण पुष्टि भएका कुखुरा सरकारले तत्काल नष्ट गर्ने व्यवस्था भएकाले संक्रमित कुखुरा बजारमा पुग्ने सम्भावना न्यून रहेको उनको भनाइ छ।
उनले सरकारले संक्रमित फार्मलाई क्षतिपूर्ति दिने व्यवस्था गरेकाले बर्डफ्लु देखिएमा कुखुरा लुकाउने वा बिक्री गर्नेभन्दा तत्काल सम्बन्धित निकायलाई जानकारी दिएर नष्ट गर्नुपर्ने बताए।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले हाल चितवन र आसपासका क्षेत्रमा बर्डफ्लुको सक्रिय संक्रमण नभेटिएकाले मासु र अण्डा निर्धक्कसँग राम्ररी पकाएर खान सकिने बताए।
उनका अनुसार चितवनसहित २२ जिल्लाबाट नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइन्छ। चितवनमा पछिल्लोपटक जेठमा एक फार्ममा संक्रमण पुष्टि भएको थियो भने त्यसअघि चैतमा पनि संक्रमण देखिएको थियो।
डा. श्रेष्ठले पोल्ट्री फार्ममा जैविक सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह गर्दै कामदारले पञ्जा, बुट, एप्रोन र मास्कजस्ता व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्नुपर्ने बताए।
उनले फार्ममा अस्वाभाविक रूपमा कुखुरा मर्न थालेमा वा बर्डफ्लुको आशंका लागेमा तत्काल परीक्षण गराउन र संक्रमण पुष्टि भएमा सो फार्मबाट कुखुरा, अण्डा तथा दाना बाहिर ननिकाल्न आग्रह गरे।
उनका अनुसार बर्डफ्लुको भाइरस बाहिरबाट चराचुरुङ्गी, सवारीसाधन, दाना वा पानीमार्फत फार्ममा प्रवेश गर्ने भएकाले खोर वरिपरिका रुख काट्ने, नियमित सरसफाइ गर्ने तथा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आवश्यक छ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार बर्डफ्लु पुष्टि भएपछि नष्ट गरिएका पोल्ट्रीजन्य सामग्रीको जिल्ला दररेटअनुसार ७० प्रतिशतसम्म क्षतिपूर्ति सरकारले उपलब्ध गराउने व्यवस्था रहेको छ।

प्रतिक्रिया