कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादन हुने स्याउ जिल्ला बाहिर निकासी गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ। स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण, बजार व्यवस्थापन र निर्यात प्रक्रियालाई व्यवस्थित तथा पारदर्शी बनाउन यस्तो व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार तिलागुफामा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम राख्दै बजारमा यसको विश्वसनीयता जोगाउने उद्देश्यले सिफारिस अनिवार्य गरिएको हो।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद काफ्लेका अनुसार जिल्ला बाहिर स्याउ निकासी गर्न चाहने कृषक तथा व्यवसायीले नगरपालिकाले तोकेको मापदण्डअनुसार सिफारिस लिएपछि मात्रै स्याउ ढुवानी गर्न पाउनेछन्।
उनका अनुसार नगरपालिकाले निर्यातका लागि तीन चरणको प्रक्रिया तय गरेको छ। स्याउ ढुवानी वा निर्यात गर्नुभन्दा कम्तीमा तीन दिनअघि कृषक वा व्यवसायीले स्याउको परिमाण र गन्तव्य स्पष्ट उल्लेख गरी नगरपालिकाको कृषि सेवा केन्द्रमा निवेदन दर्ता गर्नुपर्नेछ।
निवेदन प्राप्त भएपछि कृषि प्राविधिक टोलीले उत्पादनस्थलमै पुगेर स्याउको गुणस्तर, परिमाण तथा रोग–किराको अवस्थाबारे निरीक्षण गर्नेछ। प्राविधिक प्रतिवेदनका आधारमा आवश्यक राजस्व बुझाएपछि मात्रै नगरपालिकाले आधिकारिक निकासी सिफारिसपत्र उपलब्ध गराउने व्यवस्था गरिएको काफ्लेले बताए।
उनले यस व्यवस्थाले तिलागुफाको पहिचान बनेको स्याउको बजार व्यवस्थापनलाई थप व्यवस्थित, गुणस्तरीय र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नगरपालिकाका कृषि विकास अधिकृत गोविन्द भट्टका अनुसार तिलागुफा कालीकोटकै प्रमुख स्याउ उत्पादन क्षेत्र हो। यहाँबाट वार्षिक १० हजार क्विन्टलभन्दा बढी स्याउ विभिन्न जिल्लामा निर्यात हुँदै आएको छ।
उनले जथाभावी निकासी हुँदा तिलागुफाको स्याउको गुणस्तर र बजार छविमा नकारात्मक असर पर्न सक्ने भएकाले अनिवार्य सिफारिसको व्यवस्था लागू गरिएको बताए।

प्रतिक्रिया