ठोरीमा ‘हुरी आउँछ, विजुली जान्छ’


विरगन्ज । पर्साको ठोरी गाउँपालिकामा सामान्य हावाहुरी र वर्षा हुँदा पनि पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्याले स्थानीयवासी सास्तीमा परेका छन्। वर्षौंदेखि दोहोरिँदै आएको समस्याको दीर्घकालीन समाधानमा नेपाल विद्युत् प्राधिकरणले चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

स्थानीय चिरञ्जीवी सापकोटाका अनुसार सामान्य हावाहुरी वा वर्षा भए पनि घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुने, भोल्टेजमा उतारचढाव आउने, ‘हाफ लाइन’को समस्या देखिने तथा जीर्ण वितरण प्रणालीका कारण नागरिकले निरन्तर सास्ती भोगिरहेका छन्।

उनले विद्युत् प्रसारण लाइन नजिकका रुख तथा झाडी समयमै व्यवस्थापन नगर्दा सामान्य हावाहुरीमै पनि विद्युत् आपूर्ति बन्द हुने गरेको बताए। वितरण प्रणालीको स्तरोन्नति र नियमित मर्मतसम्भारमा बेवास्ता गरिएकाले समस्या झन् जटिल बन्दै गएको उनको भनाइ छ।

स्थानीय कृष्ण बरालका अनुसार गुणस्तरीय विद्युत् आपूर्ति नहुँदा यसको प्रत्यक्ष असर घरायसी जीवनसँगै कृषि, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा परेको छ। भोल्टेज असन्तुलनका कारण टेलिभिजन, फ्रिज, कम्प्युटर, पानी तान्ने मोटर, इन्भर्टरलगायतका विद्युतीय उपकरणमा क्षति पुगिरहेको उनले बताए।

पर्यटनको अपार सम्भावना बोकेको ठोरीमा भरपर्दो विद्युत् सेवा नहुँदा स्थानीय अर्थतन्त्र, लगानीको वातावरण तथा समग्र विकासमा समेत नकारात्मक प्रभाव परेको सरोकारवालाहरूको भनाइ छ। उनीहरूले विद्युत् प्राधिकरणसँग वितरण प्रणालीको स्तरोन्नति, प्रसारण लाइन आसपासका रुख–झाडीको नियमित व्यवस्थापन तथा दीर्घकालीन समाधानका लागि तत्काल पहल गर्न माग गरेका छन्।