गाईखुरे झरनामा पर्यटकको आकर्षण


लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यको आनन्द लिन चाहने आन्तरिक पर्यटकको रोजाइमा पछिल्लो समय लमजुङको गाईखुरे झरना पर्न थालेको छ। बेँसीसहर नगरपालिका–१ दलालस्थित डुम्रे–बेँसीसहर सडक छेउमै रहेको झरनामा अहिले दैनिक करिब ५०० पर्यटक पुग्ने गरेका छन्।

स्थानीयका अनुसार सार्वजनिक बिदा र सप्ताहान्तमा पर्यटकको संख्या झनै बढेर दोब्बरसम्म पुग्ने गरेको छ। बेँसीसहर बजारबाट करिब ६ किलोमिटर दूरीमा रहेको करिब १०० मिटर अग्लो झरना सहज पहुँचका कारण जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

गत वर्ष साउनयता झरनामा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको स्थानीय बताउँछन्। यस वर्ष असार लागेसँगै झरना अवलोकन, फोटो तथा भिडियो खिच्ने, सेल्फी लिने र प्राकृतिक पोखरीमा पौडी खेल्ने आन्तरिक पर्यटकको भीड अझ बढेको छ।

झरनाको माथिबाट झर्ने स्वच्छ पानी प्राकृतिक पोखरीमा खस्दा मनमोहक दृश्य देखिन्छ। घामको किरण पानीका छिटासँग ठोक्किँदा देखिने इन्द्रेणीले झरनाको आकर्षणलाई अझ मनमोहक बनाउने गरेको छ।

लमजुङसँगै मनाङ, गोरखा, कास्की, तनहुँ र चितवनलगायत जिल्लाबाट पनि पर्यटक गाईखुरे झरना पुग्ने गरेका छन्। चिसो पानी, हरियाली वातावरण र सहज पहुँच यहाँका प्रमुख आकर्षण बनेका छन्।

पूर्वाधार विकासमा लगानी

बेँसीसहर नगरपालिकाका अनुसार चालु आर्थिक वर्षमा करिब ९ लाख रुपैयाँ लागतमा झरना क्षेत्रमा दुईवटा पोखरी निर्माण गरिएको छ। साथै, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयले ‘एक जिल्ला, एक पर्यटन क्षेत्र’ कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षका लागि गाईखुरे झरना विकासमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

उक्त बजेटबाट मस्र्याङ्दी नदीबाट पानी ल्याई वर्षभरि झरनामा पानी बग्ने व्यवस्था गर्ने, थप पोखरी निर्माण, पार्किङस्थल विकास तथा क्यानोनिङ र र्‍याफ्टिङजस्ता साहसिक पर्यटन गतिविधि सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।

विदेशी पर्यटकको पनि रोजाइ

चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको लमजुङ हुँदै यात्रा गर्ने विदेशी पर्यटकसमेत गाईखुरे झरना पुग्ने गरेका छन्। यसका साथै अक्टोपस झरना, बुङ झरना र हामखोला झरनामा पनि पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ।

पर्यटन व्यवसायीहरू प्राकृतिक सम्पदाको संरक्षण, प्रभावकारी प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके गाईखुरे झरनालाई गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्छन्। स्थानीयवासी पनि बढ्दो पर्यटक आगमनसँगै पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्र थप चलायमान हुने अपेक्षामा छन्।