बालेन-रवि चार घण्टा चार विषयमा वार्ता !


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आइतबार लामो भेटवार्ता गरेका छन्।

बिहान करिब ११:३० बजे बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका बालेन दिउँसो करिब ३:१५ बजे मात्र बाहिरिएका थिए। दुवै नेताबीच करिब चार घण्टा विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा सरकारको सय दिनको कार्यसम्पादन समीक्षा, पछिल्लो समय सरकारप्रति बढ्दो जनअसन्तुष्टि, सुकुमवासी व्यवस्थापन, पार्टी पदाधिकारी मनोनयन तथा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा कुराकानी भएको थियो।

छलफलमा रास्वपाको संगठन विस्तारसम्बन्धी विषय पनि उठेको बताइएको छ। रास्वपाको विधानअनुसार वरिष्ठ नेतासहित ११ पदाधिकारी र ५१ सदस्यीय केन्द्रीय समिति मनोनयन गर्नुपर्ने व्यवस्था छ। बालेन र रवि पक्षबाट कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा भने अझै सहमति जुट्न बाँकी रहेको स्रोतको भनाइ छ।

विधानका केही प्रावधानलाई लिएर पनि दुवै पक्षबीच मतभेद देखिएको बताइएको छ। विशेषगरी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया र आवश्यकताअनुसार वरिष्ठ नेता नियुक्त गर्न सकिने व्यवस्थाप्रति बालेन पक्षले असन्तुष्टि जनाएको स्रोतले जनाएको छ।

रास्वपाको सार्वजनिक विधानमा सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरेमा संसदीय दलको नेताको पद रिक्त हुन सक्ने व्यवस्था छ। त्यस्तै, संसदीय दलमा दलका नेताविरुद्ध प्रत्याह्वान वा अविश्वास प्रस्ताव पारित भएमा पनि उक्त पद स्वतः रिक्त हुने प्रावधान रहेको छ।