काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको कारण भने सार्वजनिक गरिएको छैन।
फिफा विश्वकप–२०२६ मा दक्षिण अफ्रिकाका लागि तीन खेल खेका एडम्सको निधनप्रति दक्षिण अफ्रिकी फुटबल खेलाडी संघ (एसएएफपियू)ले शनिबार गहिरो दुःख व्यक्त गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा मामेलोडी सनडाउन्स तथा दक्षिण अफ्रिकी राष्ट्रिय टोली ‘बाफाना बाफाना’का मिडफिल्डर एडम्सले हालै सम्पन्न विश्वकपमा साहस, समर्पण र गौरवका साथ राष्ट्रको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उनको निधन परिवार, टोली, क्लब, फुटबल समुदाय र समग्र राष्ट्रकै लागि अपूरणीय क्षति भएको जनाएको छ।
संघले एडम्सका परिवार, मामेलोडी सनडाउन्स, स्टेलेनबोस एफसी, बाफाना बाफाना तथा उनीसँग आबद्ध सबैप्रति समवेदना व्यक्त गर्दै दक्षिण अफ्रिकी फुटबलले एक प्रतिभाशाली खेलाडी गुमाएको उल्लेख गरेको छ।
विश्वकपमा एडम्स दक्षिण अफ्रिकाका तीन खेलमध्ये दुई खेलमा सुरुआती रोजाइमा परेका थिए। चेक गणतन्त्रविरुद्धको १–१ को बराबरीअघि एक दिन मात्र उनकी हजुरआमा मरियाना एडम्सको निधन भएको थियो। व्यक्तिगत शोकका बाबजुद उनले उक्त खेल खेलेका थिए।
त्यसपछि मेक्सिकोसँग २–० ले पराजित भएको खेलमा पनि उनी सुरुदेखि मैदानमा उत्रिएका थिए भने दक्षिण कोरियाविरुद्ध १–० को जितमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। जुन २८ मा क्यानडाविरुद्धको खेलमा दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिँदा भने उनी बेन्चमै सीमित रहे।
दक्षिण अफ्रिकाका खेलकुद, कला तथा संस्कृति मन्त्री गेटन म्याकेन्जीले एडम्सको निधनप्रति दुःख व्यक्त गर्दै हजुरआमाको निधनपछि आफूले समवेदना व्यक्त गर्न सम्पर्क गर्दा एडम्सले दिएको विनम्र र कृतज्ञ जवाफ कहिल्यै नभुल्ने बताएका छन्।
उनले भने, “त्यस्तो कठिन समयमा पनि राष्ट्रिय टोलीको जर्सी लगाएर देशका लागि आफ्नो सबैथोक समर्पण गर्नु उनको असाधारण चरित्र र व्यावसायिकताको प्रमाण हो। दक्षिण अफ्रिकाले अत्यन्त प्रतिभाशाली युवा खेलाडी गुमाएको छ।”
विश्वकपअघि एडम्सले मामेलोडी सनडाउन्सलाई क्याफ च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनी स्टेलेनबोस एफसीबाट सनडाउन्समा आबद्ध भएका थिए।
सनडाउन्सबाट लिग उपाधि जितेपछि उनले आफ्नो पदक सन् २०२३ मा छुरा प्रहारबाट ज्यान गुमाएका पूर्व टोलीका सहकर्मी ओश्विन एन्ड्रिसको सम्झनामा समर्पण गरेका थिए।

प्रतिक्रिया