फिफा विश्वकप–२०२६

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपकाे सेमिफाइनलमा पुग्याे


काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार राति भएको खेल निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १२०औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए। त्यसअघि अतिरिक्त समयमै जुलियन अल्भारेजले अर्जेन्टिनाका लागि दोस्रो गोल गरेका थिए।

अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो। कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत् गोलमा परिणत गरेका थिए।

दोस्रो हाफको ६७औँ मिनेटमा स्विट्जरल्यान्डका आर. रोड्रिगेजले बराबरी गोल फर्काउँदै खेल १–१ को अवस्थामा पुर्‍याएका थिए।

स्विट्जरल्यान्डका बी. इम्बोलाले अर्जेन्टिनाका खेलाडीमाथि फाउल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए। त्यसपछि स्विट्जरल्यान्ड बाँकी समय १० खेलाडीमा सीमित बनेको थियो।

यसअघि शनिबार बिहान भएको अर्को क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।