इरान–अमेरिका द्वन्द्व थप चर्कियो, अमेरिकाद्वारा तेस्रो चरणको सैन्य आक्रमण सुरु


काठमाडौं। अमेरिकाले इरानविरुद्ध तेस्रो चरणको सैन्य आक्रमण सुरु गरेको घोषणा गरेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले होर्मुज जलमार्गमा साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि आक्रमण गरेको आरोप लगाउँदै त्यसको प्रत्युत्तरस्वरूप नयाँ सैन्य कारबाही सुरु गरिएको जनाएको हो।

सेन्टकमका अनुसार उक्त आक्रमणबाट जहाजमा आगलागी हुनुका साथै इन्जिनमा क्षति पुगेको छ। क्षतिका कारण जहाजले आफ्नो यात्रा जारी राख्न नसकेको र चालक दलका एक सदस्य अझै बेपत्ता रहेको जनाइएको छ।

अमेरिकाले जुन १६ मा भएको शान्ति सम्झौताअन्तर्गत इरानलाई आफ्ना प्रतिबद्धता पूरा गर्ने अर्को अवसर दिइएको दाबी गर्दै त्यसको पालना गर्न इरान असफल भएको आरोप लगाएको छ।

सेन्टकमले जारी गरेको वक्तव्यमा भनिएको छ, “व्यापारिक जहाजहरूमाथिका अघिल्ला आक्रमणका लागि जवाफदेही बनाइएपछि पनि इरानलाई समझदारीको पालना गर्ने अर्को अवसर दिइएको थियो। तर, उसले पुनः त्यसको उल्लङ्घन गरेको छ।”

वक्तव्यमा अमेरिकाले इरानको नागरिक जलयातायात तथा होर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यापारिक जहाजमाथि आक्रमण गर्ने क्षमतालाई कमजोर पार्ने उद्देश्यले सैन्य कारबाही जारी राखिएको उल्लेख गरेको छ।

यद्यपि, इरानले अमेरिकी दाबीबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।