सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८५ करोड ९५ लाख २३ हजार ९ सय ९५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा बसेको नगरसभाको १८औँ अधिवेशनको पहिलो बैठकमा उपमेयर गान्धीमाया तामाङले ‘विनियोजन विधेयक, २०८३’ मार्फत आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो।
जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह बजेटमध्ये एक मानिएको यस बजेटले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई केन्द्रमा राखेको छ। नगरपालिकाले आगामी वर्षलाई विकास निर्माण र सेवा प्रवाहको गुणस्तर सुधारको वर्षका रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ।
प्रस्तुत बजेटअनुसार प्रशासनिक तथा नियमित कार्य सञ्चालनका लागि चालु खर्चतर्फ ५१ करोड १२ लाख २८ हजार ९ सय ९५ रुपैयाँ विनियोजन गरिएको छ भने भौतिक निर्माण तथा विकासका कार्यक्रम सञ्चालन गर्न पूँजीगत खर्चतर्फ ३४ करोड ८२ लाख ९५ हजार रुपैयाँ छुट्याइएको छ।
नगरपालिकाले बजेटसँगै कर तथा शुल्क संकलन, राजस्व प्रशासन तथा आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउन ‘आर्थिक विधेयक, २०८३’ समेत नगरसभामा पेश गरेको छ। यसले स्थानीय राजस्वको दायरा विस्तार गर्दै वित्तीय अनुशासन र स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
पूर्वाधार विस्तारलाई उच्च प्राथमिकता
नगरपालिकाले आगामी वर्ष सडक सञ्जालको विस्तार तथा स्तरोन्नति, नगर क्षेत्रको पूर्ण विद्युतीकरण तथा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न उल्लेख्य बजेट विनियोजन गरेको छ। दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्ने, यातायात पहुँच सुधार गर्ने तथा आधारभूत सेवा सहज बनाउने लक्ष्य राखिएको छ।
कृषि र पशुपालनलाई व्यवसायिक बनाउने योजना
परम्परागत कृषि प्रणालीलाई आधुनिक र व्यवसायिक बनाउने उद्देश्यले कृषि तथा पशुपालन क्षेत्रमा विशेष लगानी गर्ने योजना नगरपालिकाले अघि सारेको छ। उत्पादन वृद्धि, कृषि व्यवसाय प्रवर्द्धन तथा किसानको आयस्तर उकास्ने कार्यक्रमहरू बजेटका प्राथमिक क्षेत्रमा परेका छन्।
सगरमाथाको प्रवेशद्वारमा पर्यटन प्रवर्द्धन
विश्वकै सर्वोच्च शिखर सगरमाथा को प्रवेशद्वारका रूपमा परिचित सोलुदुधकुण्ड नगरपालिकाले पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधार मानेको छ। बजेटमा स्थानीय संस्कृति, परम्परा र सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार विकास तथा पर्यटकीय गतिविधि विस्तार गर्ने कार्यक्रम समेटिएका छन्।
नगरपालिकाको विश्वास छ कि पर्यटन क्षेत्रको सुदृढीकरणले स्थानीय रोजगारी सिर्जना, व्यवसाय विस्तार तथा आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
शिक्षा, स्वास्थ्य र सुशासनमा जोड
आगामी वर्षको बजेटले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ। गुणस्तरीय शिक्षामा पहुँच विस्तार, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको छ। साथै सामाजिक सुरक्षा कार्यक्रममार्फत विपन्न तथा लक्षित समुदायलाई प्रत्यक्ष राहत दिने योजनाहरू पनि अघि सारिएका छन्।
त्यसैगरी नगरपालिकाको सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन प्रविधिमैत्री सुशासन तथा संस्थागत क्षमता अभिवृद्धिमा विशेष जोड दिइएको छ।

प्रतिक्रिया