विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र खुम्बुमा पर्यटन, पूर्वाधार र दिगो विकासलाई केन्द्रमा राख्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब २५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको २०औँ गाउँसभा अधिवेशनबाट उक्त बजेट पारित गरिएको हो। गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाको सभाध्यक्षतामा सम्पन्न अधिवेशनले आगामी वर्षका विकास प्राथमिकता, नीति तथा कार्यक्रमसँगै बजेट अनुमोदन गरेको छ।
गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले खुम्बु क्षेत्रको विशिष्ट पहिचान, प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै समृद्धिको आधार निर्माण गर्ने उद्देश्यले बजेट ल्याइएको बताउनुभयो। उहाँले पर्यटन क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने योजनासहित स्थानीय नागरिकको जीवनस्तर उकास्न बजेट केन्द्रित गरिएको उल्लेख गर्नुभयो।
“पर्यटन पूर्वाधारको विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाउँदै स्थानीय नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउने गरी बजेट विनियोजन गरिएको छ,” अध्यक्ष शेर्पाले भन्नुभयो, “विनियोजित बजेटको प्रभावकारी, पारदर्शी र समयमै कार्यान्वयनका लागि गाउँपालिका पूर्ण रूपमा प्रतिबद्ध छ।”
यस वर्षको बजेटमा पर्यटन पूर्वाधार निर्माण, पदमार्ग तथा पर्यटकीय स्थलहरूको स्तरोन्नति, वातावरण संरक्षण, स्थानीय संस्कृति र परम्पराको जगेर्ना, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवा विस्तारलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा सहितका प्रमुख पर्यटकीय गन्तव्यहरू रहेको खुम्बु क्षेत्र नेपालको पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधार मानिन्छ। यही सम्भावनालाई थप उपयोग गर्दै गाउँपालिकाले पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायसम्म पुर्याउने लक्ष्य लिएको छ।
गाउँसभा अधिवेशनमा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बजेटले खुम्बु क्षेत्रको आर्थिक, सामाजिक तथा वातावरणीय विकासलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
गाउँपालिकाले सार्वजनिक गरेको १ अर्ब २५ करोड रुपैयाँको बजेटले पर्यटनमैत्री पूर्वाधार विस्तार, वातावरणीय सन्तुलन कायम राख्ने कार्यक्रम तथा स्थानीय जनजीवन सुधारका योजनालाई एकसाथ अघि बढाउने अपेक्षा गरिएको छ। यसले खुम्बु क्षेत्रलाई दिगो विकासको नमुना गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया