नेचासल्यान गाउँपालिकाले सामाजिक विकास, शिक्षा, स्वास्थ्य तथा स्थानीय पूर्वाधारलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोड ६२ लाख २१ हजार ४ सय ५६ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
बुधबार सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष विना राईले बजेट प्रस्तुत गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका क्षेत्रलाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३६ करोड ९६ लाख ९२ हजार ५६ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १३ करोड ५६ लाख २९ हजार ४ सय रुपैयाँ छुट्याइएको छ। गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै विकास निर्माणका योजनालाई निरन्तरता दिन बजेट व्यवस्थापन गरिएको जनाएको छ।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले स्थानीय पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि क्षेत्रको आधुनिकीकरण तथा रोजगारी प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखेको छ। साथै स्वच्छ खानेपानीको पहुँच विस्तार, सामाजिक सुरक्षा तथा समुदायमा आधारित विकास कार्यक्रमलाई पनि बजेटमार्फत विशेष महत्व दिइएको छ।
गाउँपालिकाका अनुसार शिक्षा क्षेत्रमा विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीमैत्री वातावरण निर्माण तथा शिक्षकको क्षमता विकासमा जोड दिइनेछ। स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिनेछ।
कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउन आधुनिक प्रविधिको प्रयोग, किसानलाई प्रोत्साहन तथा कृषि उत्पादन वृद्धि गर्ने योजनाहरू कार्यान्वयन गरिने जनाइएको छ। त्यस्तै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न उद्यमशीलता विकास र आयआर्जनमूलक कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटले विकास निर्माणका गतिविधिलाई गति दिनुका साथै सामाजिक क्षेत्रको सुदृढीकरणमार्फत नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने गरी ल्याइएको बजेटले समावेशी र दिगो विकासको आधार तयार गर्ने अपेक्षा गरिएको गाउँपालिकाको भनाइ छ।
नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास र सेवा प्रवाहलाई सन्तुलित रूपमा अघि बढाउँदै सामाजिक रूपान्तरणलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया