माप्यदुधकोशी गाउँपालिकाले ल्यायो ४९ करोड ३९ लाखको बजेट


माप्यदुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड ३९ लाख ४७ हजार ७ सय ९० रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभामा अध्यक्ष बुद्धि किरण राईले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकाले आगामी वर्षका लागि पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, कृषि तथा आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेको जनाएको छ। स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा दीर्घकालीन विकासका लक्ष्य हासिल गर्ने उद्देश्यका साथ बजेट ल्याइएको अध्यक्ष राईले बताउनुभयो।

अध्यक्ष राईका अनुसार गाउँपालिकाले विगतमा सुरु गरिएका महत्त्वपूर्ण तथा गौरवका आयोजनाहरूलाई निरन्तरता दिने नीति लिएको छ। साथै पर्यटनको सम्भावना बोकेको माप्य क्षेत्रको दिगो विकास, कृषि उत्पादनमा वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढीकरणलाई विशेष प्राथमिकता दिइएको छ।

क्षेत्रगत बजेट विनियोजनतर्फ सबैभन्दा ठूलो हिस्सा पूर्वाधार विकास क्षेत्रमा छुट्याइएको छ। सडक, पुल, खानेपानी, भवन तथा अन्य भौतिक संरचनाको निर्माण र स्तरोन्नतिका लागि ९ करोड ६८ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी सामाजिक विकास क्षेत्रअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, महिला तथा बालबालिका, युवा तथा खेलकुद लगायतका कार्यक्रम सञ्चालनका लागि ५ करोड ४१ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकास क्षेत्रका कृषि, पशुपालन, पर्यटन, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धनसम्बन्धी कार्यक्रमका लागि ३ करोड ९७ लाख २४ हजार रुपैयाँ बजेट छुट्याइएको छ।

गाउँपालिकाको प्रशासनिक तथा आन्तरिक व्यवस्थापनतर्फ गाउँपालिका र वडा कार्यालयहरूको सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ९६ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडा तहमा सञ्चालन हुने योजनाहरूका लागि वडा सिलिङ शीर्षकमा १ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ भने विभिन्न दायित्व भुक्तानीका लागि ४ लाख ७५ हजार रुपैयाँ व्यवस्था गरिएको छ।

गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय तहमा विकास निर्माणका गतिविधिलाई तीव्रता दिने, पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्ने तथा कृषि उत्पादन र बजार व्यवस्थापनमार्फत स्थानीय नागरिकको आयआर्जन बढाउने लक्ष्य राखेको छ।

गाउँसभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटमाथि छलफलपछि आवश्यक प्रक्रियामार्फत पारित गरिने गाउँपालिकाले जनाएको छ। स्थानीय जनप्रतिनिधिहरूले बजेटले विकास र समृद्धिको आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन्।

माप्यदुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण तथा पर्यटन विकासलाई सन्तुलित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।