जिरी उद्योग वाणिज्य संघ, दोलखाको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट अनिल कार्की अध्यक्षमा निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी बाबुराजा श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्।
निर्वाचनबाट संघको महासचिवमा सुरज खड्का निर्वाचित भएका छन्।
यसैगरी, प्रथम उपाध्यक्ष पदमा दलबहादुर श्रेष्ठ (डी.बी.) भारी मतका साथ विजयी भएका छन्। कुल १४४ मत खसेको निर्वाचनमा श्रेष्ठले ११२ मत प्राप्त गर्दै उल्लेखनीय जीत दर्ता गरेका हुन्। प्राप्त मतका आधारमा उनी निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी हुने उम्मेदवारसमेत बनेका छन्।
व्यवसायीहरूबीच लोकप्रिय तथा सक्रिय व्यक्तित्वका रूपमा परिचित श्रेष्ठको जितलाई व्यवसायी समुदायले उनीप्रति व्यक्त गरेको विश्वास र अपेक्षाको रूपमा हेरिएको छ।
विजयी भएपछि श्रेष्ठले सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै जिरी उद्योग वाणिज्य संघको संस्थागत विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा संघको गरिमा अभिवृद्धिका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए।
नवनिर्वाचित अध्यक्ष कार्कीसहितको नयाँ नेतृत्वले जिरी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको हितमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै स्थानीय व्यवसायीहरूमा उत्साह र खुसी छाएको छ।

प्रतिक्रिया