रक्त क्यान्सर (एक्युट ल्युकेमिया) बाट पीडित १७ महिनाका बालक संवित बरुवालको उपचारका लागि संकलन गरिएको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल स्थायी घर भई हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट तथा अनुसन्धान केन्द्रमा उपचाररत बालकका बुवा तेजबहादुर बरुवाल (सौरभ) लाई आइतबार एक कार्यक्रमका बीच सो रकम प्रदान गरिएको हो।
बालकको उपचार खर्च अत्यधिक महँगो भएपछि स्थानीय स्तरमा सिर्जनशील युवा समाज, थुलुङ दुधकोशी–२ काँगेलको पहलमा देश तथा विदेशमा रहेका नेपालीहरूमाझ सहयोग अभियान सञ्चालन गरिएको थियो। यस अभियानबाट संकलित रकममध्ये बचत भएको २ लाख ३८ हजार ५ सय रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। रकम हस्तान्तरण कार्यक्रममा उपस्थित सहभागीहरूले बालक संवितको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए।
अभियानमा कसको कस्तो भूमिका?
यस मानवीय कार्यलाई सफल बनाउन सिर्जनशील युवा समाजका केन्द्रीय अध्यक्ष चित्रकुमार राईले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो भने संयुक्त राज्य अमेरिकामा रहेर योगेन्द्र राईले सक्रिय रूपमा आर्थिक संकलनको पाटो सम्हाल्नुभएको थियो।
सिर्जनशील युवा समाजले कठिन परिस्थितिमा एकजुट भई मानवीय सेवामा जुट्ने नेपाली समाजको भावनालाई यो अभियानले पुनः उजागर गरेको उल्लेख गरेको छ। साथै, देश–विदेशबाट योगदान पुर्याउने सम्पूर्ण दाता, शुभेच्छुक र सहयोगी मनहरूप्रति संस्थाले हार्दिक आभार प्रकट गरेको छ। यो आर्थिक सहयोगले बालकको थप उपचार प्रक्रियामा महत्वपूर्ण राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया