सोलुखुम्बु जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ मा अपराध तथा विभिन्न प्रकृतिका मुद्दा दर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न प्रकृतिका १८२ वटा मुद्दा दर्ता भएका छन्।
यो संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१४३ मुद्दा) तुलनामा ३९ वटाले बढी हो। दर्ता भएका १८२ मुद्दामध्ये यस अवधिमा ५३ वटा मुद्दा फछ्र्योट भइसकेका छन्।
भवितव्य र झुण्डिएर मृत्यु हुनेको संख्या डरलाग्दो
प्रहरीका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी भवितव्य ज्यान सम्बन्धी ६६ वटा र झुण्डिएर मृत्यु (आत्महत्या) भएका ५४ वटा घटना दर्ता भएका छन्। दुई आर्थिक वर्षको तथ्याङ्क तुलना गर्दा जिल्लामा भवितव्य ज्यान र आत्महत्याका घटनामा तीव्र वृद्धि भएको देखिन्छ।
चालु आर्थिक वर्षमा दर्ता भएका अन्य मुख्य मुद्दाहरू:
- जबरजस्ती करणी: १३ वटा
- अभद्र व्यवहार: ११ वटा
- बैंकिङ कसूर: ८ वटा
- जबरजस्ती करणी उद्योग: ६ वटा
- ज्यान मार्ने उद्योग र नकबजनी चोरी: ५–५ वटा
- बहुविवाह: ३ वटा
- फुटकर ज्यान, सवारी ज्यान र बालयौन दुर्व्यवहार: २–२ वटा
- विद्युतीय अपराध, ठगी, चोरी गर्ने उद्योग, विष सेवनबाट मृत्यु तथा पशुपन्छी सम्बन्धी कसूर: १–१ वटा
गत वर्षको अवस्था कस्तो थियो?
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधि (साउन–जेठ) मा भवितव्य ज्यानका ५० र झुण्डिएर मृत्यु भएका ४० वटा घटना दर्ता भएका थिए।
त्यस्तै, जबरजस्ती करणीका ११, कर्तव्य ज्यान र सवारी ज्यानका ५–५, जबरजस्ती करणी उद्योगका ४, नकबजनी चोरीका ३, बहुविवाह, बाल यौन दुर्व्यवहार र ठगीका २–२ तथा बोक्सीको आरोप र हाम फालेर मृत्यु भएको १–१ वटा मुद्दा दर्ता भएका थिए। सो वर्ष कुल ४९ वटा मुद्दा फछ्र्योट गरिएको थियो।
सवारी र कर्तव्य ज्यान घट्यो, बैंकिङ कसूर बढ्यो
दुई वर्षको तथ्याङ्क केलाउँदा भवितव्य ज्यान र आत्महत्यासँगै जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग तथा आर्थिक कारोबारसँग जोडिने बैंकिङ कसूरका मुद्दाहरू बढेका छन्। यद्यपि, सवारी ज्यान र कर्तव्य ज्यान (हत्या) का घटनामा भने केही कमी आएको प्रहरी तथ्याङ्कले देखाउँछ।
मुद्दा बढ्नुको कारण: कानुनी सचेतना कि अपराध वृद्धि?
जिल्लामा मुद्दा दर्ताको संख्या बढ्नुलाई प्रहरीले सकारात्मक रूपमा समेत विश्लेषण गरेको छ। प्रहरीका अनुसार मुद्दाको संख्या बढ्नुले जिल्लामा अपराधका घटना मात्रै वृद्धि भएको संकेत गर्दैन, बल्कि नागरिकमा कानुनी सचेतना समेत बढ्दै गएको पुष्टि गर्छ।
पहिले-पहिले घटनाहरू समाजमै लुकाउने वा दबाउने प्रवृत्ति रहेकोमा अहिले कानुनी दायरामा आउने र प्रहरीसम्म पुग्ने क्रम बढेको छ। यसले सोलुखुम्बुमा उजुरी गर्ने बानी र कानुनी कारबाहीको दायरा विस्तार हुँदै गएको देखाउँछ।

प्रतिक्रिया