कक्षा १२ को नतिजामा उल्लेखनीय सुधार

८.५८ प्रतिशतले वृद्धि


राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को नतिजामा यस वर्ष उल्लेखनीय सुधार देखिएको छ। बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको ६१.१७ प्रतिशतको तुलनामा ८.५८ प्रतिशतले बढी हो।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा सुधार हुनुमा प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण प्रणालीमा गरिएको सुधार, शिक्षक तथा परीक्षकलाई दिइएको तालिम, विद्यालयको मेहनत र विद्यार्थीको अध्ययन प्रमुख कारण हुन्।

‘यो वर्ष नतिजामा उल्लेखनीय सुधार आएको छ। प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षणसम्म सम्बन्धित जनशक्तिलाई तालिम दिएका थियौं,’ सदस्यसचिव अर्यालले भने। उनका अनुसार विद्यार्थीलाई परीक्षा अघि नै नमुना प्रश्नपत्रमार्फत तयारी गराइएकाले पनि सकारात्मक प्रभाव परेको हो।

नियमिततर्फ २ लाख ३१ हजारभन्दा बढी विद्यार्थी ग्रेडेड

यस वर्ष नियमिततर्फ ३ लाख ३२ हजार २४१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन्।

जीपीएअनुसार हेर्दा ३.६१ देखि ४.०० जीपीए ल्याउने १७ हजार ७८६ जना विद्यार्थी रहेका छन्। त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना र २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २४९ जना विद्यार्थी छन्।

यसैगरी २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना तथा १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना विद्यार्थी ग्रेडेड भएका छन्।

आंशिकतर्फ ४२.३८ प्रतिशत मात्रै ग्रेडेड

आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ३६ हजार ४२० जना ग्रेडेड भएका छन्। यसअनुसार आंशिकतर्फ ग्रेडेड प्रतिशत ४२.३८ रहेको छ।

नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। दुवै समूह जोड्दा समग्र ग्रेडेड प्रतिशत ६४.१३ पुगेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।

४० दिनमै सार्वजनिक भयो नतिजा

यस वर्षको परीक्षा वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा सम्पन्न भएको ४० दिनमै बोर्डले नतिजा सार्वजनिक गरेको हो। सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न दिएको निर्देशनभन्दा पाँच दिनअघि नै बोर्डले नतिजा प्रकाशन गरेको छ।

सदस्यसचिव अर्यालका अनुसार उत्तरपुस्तिका परीक्षण र नतिजा तयारीमा सम्बन्धित सबै पक्षले दिनरात मेहनत गरेकाले समयमै नतिजा सार्वजनिक गर्न सम्भव भएको हो। उनले शिक्षकहरूको समयमै उत्तरपुस्तिका परीक्षण र व्यवस्थित व्यवस्थापनले पनि ठूलो भूमिका खेलेको बताए।

यस वर्ष नेपालभर १ हजार ४२० तथा जापानमा रहेको एक केन्द्र गरी कुल १ हजार ४२१ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो। बोर्डले भने यसपटक प्रदेशगत नतिजा सार्वजनिक गरेको छैन।

पुनर्योगका लागि सात दिनभित्र आवेदन

नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले पुनर्योगका लागि असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। पुनर्योगका लागि प्रति विषय एक हजार रुपैयाँ दस्तुर तोकिएको छ।

ट्रान्सक्रिप्ट १५ दिनपछि उपलब्ध

बोर्डका अनुसार नतिजा प्रकाशन भएको १५ दिनपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि रसिद काट्न सक्नेछन्।

त्रुटि सच्याउन ६ महिनाको समय

नतिजामा नाम, रजिस्ट्रेसन नम्बर, विषय, अनुपस्थित वा स्थगितजस्ता त्रुटि देखिएमा सम्बन्धित कार्यालय वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा आवश्यक कागजातसहित नतिजा सार्वजनिक भएको मितिले ६ महिनाभित्र निवेदन दिन सकिने बोर्डले जनाएको छ।

मौका परीक्षा पनि हुने

नियमित परीक्षार्थीमध्ये सैद्धान्तिकतर्फ अन्य सबै विषयमा कम्तीमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा ननग्रेड भएका वा बढीमा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले मौका (पूरक) परीक्षामा सहभागी हुन पाउनेछन्। यससम्बन्धी विस्तृत समयतालिका र सूचना बोर्डले पछि सार्वजनिक गर्ने जनाएको छ।